सोलु- अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड आफ्नो वित्तीय अवस्थामा सुधार ल्याउँदै नाफामा गएको छ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८४.३३ प्रतिशतले वृद्धि भइ २० करोड ८७ लाख ६३ हजार ०१३ रूपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ३२ लाख ३ हजार ३०६ रूपैयाँ रहेको थियो।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने सञ्चालन आम्दानी ४.७३ प्रतिशतले बढेर ७५ करोड ३२ लाख ९६ लाख १३६ रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७२ करोड ४० लाख ६३ हजार रूपैयाँ थियो।
आयोजना सञ्चालन खर्च १०.२७ प्रतिशतले बढेर ११ करोड ७२ लाख ५८ हजार ८९७ रूपैयाँ पुगेको भएपनि ग्रस नाफा २.२५ प्रतिशतले बढेर ६३ करोड ५९ लाख ९७ हजार २३८ रूपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २८.२० प्रतिशतले घटेर १९ करोड ९८ लाख ९७ हजार ५८३ रूपैयाँमा झरेको छ। जसको खुद नाफा बढाउन मुख्य योगदान छ।
आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८४.३३ प्रतिशतले बढेर १५.४६ रूपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५.८३ प्रतिशतले बढेर ११९.०२ रूपैयाँ पुगेको छ। त्यस्तै, चालु अनुपात १.६५ र मूल्य आम्दानी अनुपात २९.०५ गुणा रहेको छ।
हाल चुक्तापुँजी १ अर्ब ३५ करोड रूपैयाँ रहेको यस कम्पनीको जगेडा कोष ६८८.९१ प्रतिशतको वृद्धिसँगै २५ करोड ६७ लाख ५५ लाख रूपैयाँ पुगेको छ।
दीर्घकालीन कर्जा भुक्तानी गर्दै लैजाँदा कम्पनीको दीर्घकालीन ऋण ६.६३ प्रतिशतले घटेर २ अर्ब ९४ करोड ३८ लाख ५७ हजार ९८१ रूपैयाँमा झरेको छ।