बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कुटमेश्वरी पुल नबन्दा यात्रा जोखिमपूर्ण, पटकपटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको स्थानीयको गुनासो

आइतबार, साउन २४ २०८३
कुटमेश्वरी पुल नबन्दा यात्रा जोखिमपूर्ण, पटकपटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको स्थानीयको गुनासो

सडक सञ्चालनमा आएपछि पुल पनि छिट्टै तयार हुने अपेक्षा गरिए पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निराशा बढेको छ।

जनकपुरधाम- हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु सास्तीपूर्ण रूपमा यात्रा गर्न बाध्य छन्। सडकको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो।

यसले स्थानीयवासी, विद्यार्थी, किसान र यात्रुले दैनिकरूपमा सास्ती खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर, बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीय बताउँछन्।

पुल निर्माण अधुरै रहेकाले बालुवा र माटोले बनाइएको वैकल्पिक बाटो साँघुरो र जीर्ण बन्दै गएका स्थानीय सुरेश साहले बताए। उनका अनुसार सवारीसाधनको अत्यधिक चापका कारण दैनिकरूपमा घण्टौँसम्म जाम हुने र वैकल्पिक बाटोका लागि बनाइएको डाइभर्सन वर्षायाममा बगाउँदा बाटो झनै जोखिमपूर्ण बन्ने गरेको छ।

कतिपय अवस्थामा यात्रुले लामो दूरी घुमेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ भने एम्बुलेन्स, विद्यालयका सवारीसाधन र अत्यावश्यक सेवासमेत प्रभावित हुने गरेको स्थानीय सञ्जीकुमार मिश्रले बताए। स्थानीयले पटकपटक सम्बन्धित निकाय र निर्माण कम्पनीको ध्यानाकर्षण गराएपनि कामले अपेक्षित गति लिन नसकेको उनको गुनासो छ।

सडक सञ्चालनमा आएपछि पुल पनि छिट्टै तयार हुने अपेक्षा गरिए पनि निर्माणले गति लिन नसक्दा नागरिकमा निराशा बढेको छ। उक्त पुल निर्माणका लागि विसं २०७९ फागुनमा रामजानकी निर्माण सेवा जनकपुरधामले २० करोड रूपैयाँमा सम्झौता गरेको थियो।

हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय जनकपुरधामका अनुसार पछिल्लो पटक २०८३ साउन ११ गतेमा सम्पन्न गर्ने गरी म्याद थप भएपनि हालसम्म करिब ५० प्रतिशतमात्र काम भएको छ। 

बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले बताए। उनका अनुसार निर्माण व्यवसायीले काम गरिहेकाले केही महिनाका लागि पुनः म्याद थप गरेर तीव्रता दिने तयारी भइरहेको छ।

पुल निर्माण नहुँदा विशेषगरी वर्षायाममा समस्या अझ गम्भीर बन्ने स्थानीय बताउँछन्। खोलामा पानीको बहाव बढेपछि आवतजावत गर्न कठिन हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने स्थानीयको अनुभव छ। रासस


प्रकाशित : आइतबार, साउन २४ २०८३१८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend