बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

‘स्टेट अफ हर्मुज’ खोल्न इरानको अमेरिकामाथि कडा सर्त, नाकाबन्दी हटाउनदेखि युद्ध क्षतिपूर्तिसम्म माग

आइतबार, साउन २४ २०८३
‘स्टेट अफ हर्मुज’ खोल्न इरानको अमेरिकामाथि कडा सर्त, नाकाबन्दी हटाउनदेखि युद्ध क्षतिपूर्तिसम्म माग

इरानले विश्वको प्रमुख ऊर्जा व्यापारिक मार्ग 'स्टेट अफ हर्मुज'पुनः अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला गर्नुअघि अमेरिकाले आफ्ना विभिन्न सर्त पूरा गर्नुपर्ने अडान राखेको छ। इरानको पछिल्लो कडा सर्तका कारण हर्मुज जलमार्ग तत्कालै खुल्ने अपेक्षा अन्योलमा परेको छ।

काठमाडौं- इरानले विश्वको प्रमुख ऊर्जा व्यापारिक मार्ग 'स्टेट अफ हर्मुज'पुनः अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला गर्नुअघि अमेरिकाले आफ्ना विभिन्न सर्त पूरा गर्नुपर्ने अडान राखेको छ। इरानको पछिल्लो कडा सर्तका कारण हर्मुज जलमार्ग तत्कालै खुल्ने अपेक्षा अन्योलमा परेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घादरले शनिबार अमेरिकी प्रतिबन्धदेखि सैन्य उपस्थितिसम्मका विषय समेटिएका माग सार्वजनिक गरेका हुन्। उनका अनुसार हर्मुज जलमार्ग खोल्नुअघि अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, सबै प्रतिबन्ध अन्त्य गर्नुपर्ने, इरान वरपरबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने, युद्ध क्षतिपूर्ति दिनुपर्ने र विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्नेछ।

इरानी सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको उनको वक्तव्यमा अमेरिकाले इरानका क्षेत्रीय सहयोगीमाथि गरिरहेका आक्रमण रोक्नुपर्ने तथा इरानविरुद्धका सैन्य धम्कीसमेत अन्त्य गर्नुपर्ने उल्लेख छ। इरानका यी मागबारे ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि इरान र ओमानबीच हर्मुज जलमार्गमा जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा वार्ता अघि बढेको थियो। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले दुवै देश सम्झौताको नजिक पुगेको बताएका छन्।

तर इरानी अधिकारीहरूले हर्मुज तत्काल खुल्ने सम्भावना नरहेको स्पष्ट संकेत गरेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का प्रवक्ता होसेन मोहेब्बीले हर्मुज खोल्ने विषय इरान-ओमान वार्तामा मात्र निर्भर नरहेको बताएका छन्।

इरानी सञ्चारमाध्यम तस्निमका अनुसार उनले जलमार्ग खोल्ने विषय अमेरिकाले इरानका सर्त पूर्ण रूपमा स्वीकार गर्छ कि गर्दैन भन्नेमा निर्भर रहेको बताएका छन्। अमेरिकाले ओमान वा अन्य मुलुकसँग इरानले गरिरहेको वार्तामा हस्तक्षेप गर्न नहुने उनको भनाइ छ।

अराघ्चीले पनि हर्मुजमा अस्थायी मार्ग सञ्चालन गर्ने विषयमा इरान र ओमानबीच छलफल भइरहेको बताएका छन्। त्यसको प्राविधिक व्यवस्थाबारे दुवै देशका सेनाबीच समेत वार्ता भइरहेको जनाइएको छ।

सम्भावित सम्झौताले हर्मुजमा जहाज आवागमनमाथि इरानले दाबी गर्दै आएको केही नियन्त्रणलाई औपचारिक स्वरूप दिन सक्ने वार्ताबारे जानकार अधिकारीहरूले बताएका छन्।

इरानी विदेशमन्त्री अराघ्चीले जुनमा पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भएको अमेरिका-इरान युद्धविराम सम्झौताको कार्यान्वयनका विषयमा पनि अमेरिकामाथि प्रश्न उठाएका छन्। उनले सम्झौताको उल्लंघनका लागि अमेरिकाले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

उक्त सम्झौतामा हर्मुज जलमार्ग खोल्ने र इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा हटाउने विषय समेटिएको थियो। तर सम्झौताको भाषा अस्पष्ट रहेकाले अमेरिका र इरानले त्यसको फरक-फरक व्याख्या गर्दै आएका छन्।

अमेरिकाले इरानी क्षेत्रीय पानीबाट जोगिँदै ओमानको तट हुँदै दक्षिणी मार्ग प्रयोग गर्न व्यावसायिक जहाजलाई प्रोत्साहित गरेको थियो। इरानले भने उक्त मार्ग प्रयोग गर्ने जहाजलाई चेतावनी दिनुका साथै केही जहाजमाथि आक्रमणसमेत गरेको थियो।

त्यसपछि युद्धविराम लामो समय टिक्न नसकेको र अमेरिकाले इरानी बन्दरगाहमाथि पुनः नौसैनिक नाकाबन्दी लगाएको इरानी पक्षको दाबी छ।

अराघ्चीले अमेरिकाले हर्मुजबाट जहाज पार गराउन नयाँ मार्ग स्थापना गरेर जलमार्ग व्यवस्थापनमा इरानको अधिकार कमजोर पार्न खोजेको आरोप लगाएका छन्। इरानको व्यवस्थापन अधिकारमाथि कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ छ।

जहाज आवागमन १३० बाट घटेर दैनिक १२-१५ मा सीमित भएको छ। हर्मुज जलमार्गमा देखिएको तनावको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय समुद्री व्यापारमा परेको छ। समुद्री यातायातसम्बन्धी तथ्यांक कम्पनी केप्लरका अनुसार पछिल्लो एक सातामा दैनिक १२ देखि १५ वटा जहाजले मात्र हर्मुज जलमार्ग पार गरेका छन्।

युद्धअघि भने औसतमा दैनिक करिब १३० वटा जहाज यो मार्गबाट आवतजावत गर्ने गरेका थिए। यसले हर्मुजको प्रभावकारी बन्दले विश्वव्यापी समुद्री व्यापार र ऊर्जा आपूर्तिमा कति ठूलो असर पारेको देखाउँछ।

इरानी वा अमेरिकी नाकाबन्दीमा पर्ने जोखिमका कारण केही जहाजले आफ्नो स्थान देखाउने ट्रान्सपोन्डर बन्द गरेका छन्। त्यसकारण वास्तविक जहाज आवागमनको संख्या भने यकिन गर्न कठिन रहेको छ।

यसैबीच संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले इरानले अबुधाबी नेसनल आयल कम्पनीको ट्यांकरमाथि हर्मुज पार गर्ने क्रममा आक्रमण गरेको जनाएको छ।

कम्पनीका अनुसार द्वन्द्व सुरु भएयता उसका कम्तीमा १५ वटा जहाज हर्मुज जलमार्गमा आक्रमणमा परेका छन्। ती घटनामा एक जनाको मृत्यु भएको र २० जना चालकदलका सदस्य घाइते भएका छन्।

ओमानको विदेश मन्त्रालयले पनि हर्मुज हुँदै आवतजावत गरिरहेका जहाजमाथि भइरहेका बारम्बारका आक्रमणको निन्दा गरेको छ। यस्ता आक्रमण अन्तर्राष्ट्रिय कानुन र क्षेत्रीय सार्वभौमिकताको उल्लंघन भएको ओमानको भनाइ छ।

यद्यपि ओमानले इरानसँगको वार्ता सकारात्मक र रचनात्मक वातावरणमा अघि बढिरहेको जनाएको छ। वार्ताको प्रगतिलाई प्रभावित पार्ने गतिविधिबाट सबै पक्ष टाढा रहनुपर्ने उसको आग्रह छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरान-ओमान वार्ता प्रक्रियामा अमेरिका संलग्न रहेको संकेत गरेका छन्। शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले वार्ता अझै निष्कर्षमा नपुगेको बताएका छन्।

यसअघि अमेरिकी अधिकारीहरूले हर्मुज खोल्ने सम्झौता लगभग तयार भइसकेको बताएका थिए। तर भान्सका अनुसार अहिलेको मुख्य चुनौती जहाजलाई सुरक्षित रूपमा जलमार्ग पार गराउन सकिने व्यवस्था निर्माण गर्नु हो।

त्यसका लागि समुद्रमा बिछ्याइएका विस्फोटक हटाउने तथा इरानले व्यावसायिक जहाजमाथि गोली नचलाउने प्रतिबद्धता जनाउने विषय महत्वपूर्ण रहेको उनले बताए।

सम्भावित सम्झौताका क्रममा अमेरिकाले इरानलाई के-कस्ता सहुलियत दिन सक्छ भन्नेबारे भने भान्सले स्पष्ट पारेनन्। बरु उनले इरानमाथि अमेरिकाको ठूलो दबाब रहेको दाबी गरेका छन्।

इरानी अधिकारीहरूको पछिल्लो कडा अडानलाई घरेलु राजनीतिक दबाबसँग पनि जोडेर हेरिएको छ। विदेशमन्त्री अराघ्ची र राष्ट्रपति मसुद पेजेस्कियानमाथि अमेरिकासँग कुनै पनि सम्झौता नगर्न कट्टरपन्थी समूहबाट दबाब बढिरहेको विश्लेषण गरिएको छ।

इसराइलस्थित इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिजका इरान मामिला विज्ञ रज जिम्टका अनुसार इरान-ओमान वार्ताको मुख्य उद्देश्य भविष्यमा हर्मुज कसरी सञ्चालन गर्ने भन्ने प्राविधिक व्यवस्था तय गर्नु हुन सक्छ।

तर अमेरिकाले युद्धविराम सम्झौतामा गरेको प्रतिबद्धता पूरा नगरेसम्म तेहरानले त्यस्तो सम्झौता कार्यान्वयन गर्न नदिने उनको आकलन छ।


प्रकाशित : आइतबार, साउन २४ २०८३०९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend