काठमाडौं- गणितमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीका लागि इतिहासकै ठूलो अवसर अहिले अमेरिकी बजारमा देखिएको छ। अमेरिकामा उत्कृष्ट गणितीय क्षमता भएका युवालाई एआई कम्पनीदेखि वाल स्ट्रिटका ट्रेडिङ फर्मसम्मले करोडौँ रुपैयाँबराबरको पारिश्रमिक प्रस्ताव गर्न थालेका छन्।
एआई र क्वान्टिटेटिभ ट्रेडिङ कम्पनीबीच एउटै प्रतिभाका लागि प्रतिस्पर्धा बढेपछि नयाँ स्नातक र विद्यावारिधि गरेका युवाको पारिश्रमिक पनि तीव्र रूपमा बढेको छ। केही कम्पनीले प्रवेशस्तरमै वार्षिक १० लाख डलरभन्दा बढीको प्याकेज दिन थालेका छन्। यस्तो प्रस्ताव १५ लाख डलरसम्म पुगेको छ।
एआईको तीव्र विकास र ओपनएआईजस्ता कम्पनीको विस्तारसँगै गणित तथा मेसिन लर्निङमा दक्ष जनशक्तिको माग बढेका कारण गणितका प्रतिभाका लागि अवसर बढेको हो।
अमेरिकाको वालस्ट्रिटका क्वान्ट ट्रेडिङ कम्पनीहरूले लामो समयदेखि गणितीय मोडेल प्रयोग गरेर वित्तीय बजारमा कारोबार गर्दै आएका छन्। अहिले ती कम्पनीले मेसिन लर्निङ र एआईलाई पनि कारोबारमा व्यापक रूपमा प्रयोग गर्न थालेका छन्।
एआई कम्पनीलाई पनि जटिल समस्या समाधान गर्न सक्ने गणित, तथ्यांक र कम्प्युटर विज्ञानमा दक्ष अनुसन्धानकर्ता चाहिन्छ। त्यसैले एआई कम्पनी र क्वान्ट ट्रेडिङ फर्मबीच एउटै प्रतिभाका लागि प्रतिस्पर्धा बढेको हो।
अग्रणी कम्पनीमा प्रवेशस्तरको सामान्य पारिश्रमिक प्याकेज नै ३ लाख ५० हजारदेखि ५ लाख डलरसम्म पुगिसकेको उद्योगका जानकारहरू बताउँछन्। उत्कृष्ट प्रतिभाका लागि भने कम्पनीहरू यसभन्दा धेरै रकम खर्च गर्न तयार छन्।
प्रतिस्पर्धा बढेपछि कम्पनीहरूले विद्यार्थी विश्वविद्यालयबाट निस्किएपछि मात्र भर्ती गर्ने अभ्यास छाड्दै गएका छन्। विश्वविद्यालयमै पुगेर प्रतिभा खोज्ने र इन्टर्नसिपमार्फत विद्यार्थीलाई प्रारम्भिक चरणमै आफ्नो कम्पनीसँग जोड्ने क्रम बढेको छ।
कतिपय कम्पनीले इन्टर्नसिपमै विद्यार्थीको क्षमता परीक्षण गरेर उनीहरू स्नातक हुनुभन्दा एक वा दुई वर्षअघि नै स्थायी रोजगारीको प्रस्ताव दिन थालेका छन्।
एमआईटीमा गणित र कम्प्युटर विज्ञान अध्ययन गरिरहेकी लौरा झाङले विद्यालयस्तरको गणित प्रतियोगितामार्फत पहिलोपटक क्वान्ट ट्रेडिङ कम्पनीबारे थाहा पाएकी थिइन्। अहिले यस्ता कम्पनीले गणित शिविर, विश्वविद्यालय भ्रमण र कार्यालय अवलोकनजस्ता कार्यक्रममार्फत विद्यार्थीलाई आकर्षित गरिरहेका छन्।