काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्दै आएको दुईवटै वाइडबडीका चारवटै इन्जिन ओभरहल (मर्मत) समय नजिकिँदै आएको छ। तर इन्जिन मर्मत तथा इन्जिन भाडामा लिनेगरी कम्पनी छनोटका लागि पाँच महिनादेखि सुरु भएको प्रक्रिया अझै पूरा भएको छैन।
इन्जिन मर्मत तथा भाडामा लिन कम्पनी छनोट नहुँदा वाइडबडी जहाज ग्राउन्डेड हुने निश्चित भएको छ। एउटा वाइडबडी एक दिन मात्रै ग्राउन्डेड हुँदा न्यूनतम १ करोड ५० लाख आम्दानी गुम्छ। कम्पनी छनोटमा देखिएको समस्याका कारण दुईवटै जहाज ग्राउन्डेड हुन अवस्थामा पुगेको निगम स्रोतको दाबी छ।
निगमले अन्तर्राष्ट्रिय उडानका प्रयोग गरिरहेको वाइडबडी कलसाइन नाइन एन एलवाईले अब १८० साइकल उडानमात्रै गर्न सक्छ। एउटा टेक अफ र एउटा ल्याण्ड बराबर एक साइकल गणना हुन्छ। सामान्यत: एउटा वाइडबडी जहाजले दैनिक चार साइकल उडान गर्छ। तर उडानको चाप रहेको र एउटामात्रै वाइडबडीले उडान गर्दाको अवस्थामा पाँच साइकलसमेत उडान भर्छ। यही हिसाबमा कल साइन नाइन एन एलवाई वाइडबडीले अब अधिकतम ४५ दिनमात्रै उडान भर्न सक्छ। त्यसमा पनि कुनैदिन पाँच साइकल उडान भएको अवस्थामा त्यो पनि उडान गर्न सक्दैन।
नाइन एन एलवाई जहाजको उडान साइकलमा अबको एक महिना थप दबाब पर्ने निश्चित छ। किनकी अर्को वाइडबडी नाइन एन एलजेट १० अगष्टमा सी चेकका लागि इटाली पठाइँदै छ। इटाली पठाउन लागिएको नाइन एन एलजेटको भने ४५० साइलक उडान बाँकी रहेको छ। पछिल्लो ६ महिनादेखि निगम व्यवस्थापनले वाइडबडी जहाज उडानमा साइकल सेभको नीति लिइरहेको छ। साइकल सेभको नीतिले निगमको आम्दानीका घाटा लागिरहेको छ।
निगमले इन्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया सुरु गरेको पाँच महिना पूरा भइसेको छ। तर कम्पनी छनोट प्रक्रियामा प्रगति शून्य छ। पछिल्लो पटक निगमले जुन २५ मा ३० दिनको सयमसीमा राखेर दुईवटा वाइडबडीको चारवटा इन्जिन मर्मत तथा भाडामा लिनेगरी प्रस्ताव माग गरेको थियो। उक्त प्रस्तावमा यूएईको कम्पनीले आवेदन दिएको हो।
अबुधाबीमा मुख्यालय रहेको सनद ग्रुपले इन्जिन मर्मत र भाडाको टेन्डरमा आवेदन पेस गरेको थियो। तर आवेदन पेस गर्ने कम्पनीको प्रस्ताव रद्द गर्नुपर्ने अवस्था आएको छ। निगम स्रोतका अनुसार सोमबार आवेदन दिन कम्पनीको प्रस्ताव रद्दको सूचना आउने छ। यो प्रस्ताव रद्द भएपछि निगमले फेरि सुरुबाट प्रक्रिया सुरु गर्नु पर्ने छ। निगमले पहिलोपटक अप्रिल ५ मा चारवटा इन्जिन मर्मत तथा भाडामा लिनेगरी टेन्डर गरेको थियो।
उक्त टेन्डरमा कसैले पनि प्रस्ताव पेस गरेका थिएन। इन्जिन मर्मत तथा भाडामा लिने काम गरिरहेको निगमको सम्बन्धित विभागका अनुसार अब निगमको एउटा वाइडबडी जहाज ग्राउन्डेड निश्चित भएको छ। अर्को वाइडबडी भने थप ३ महिनाभित्रै कम्पनी छनोट भएको अवस्थामा ग्राउन्डेड हुने अवस्था नआउने स्रोतको दाबी छ।
आर्थिक संकट भोगिरहेको अवस्थामा जहाज ग्राउन्डेड भएपछि निगममा थप संकट आउने छ। अहिले नै निगमसँग चारवटा इन्जिन मर्मत र भाडामा लिनका लागि नगद अभाव छ। निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग इन्जिन मर्मत तथा भाडाका लागि आवश्यक रकम व्यवस्थापनका लागि हारगुहार गरिरहेको छ।
इन्जिन मर्मत तथा भाडामा लिने काम जति हतारमा गरिन्छ त्यति नै महँगो हुने निश्चित छ भने विश्व बजार अहिले वाइडबडी जहाजको इन्जिन भाडामा पाउन नै असहजत अवस्था छ। अर्कोतर्फ युक्रेन रुस द्वन्दका कारण समयमा नै इन्जिन मर्मत हुनसक्ने अवस्था छैन। निगम स्रोतका अनुसार एउटा इन्जिन मर्मतका लागि न्यूनतम ४ महिनादेखि ६ महिनासम्म लाग्छ।
उक्त समयमा जहाज ग्राउन्डेड गरेर राख्दा निगमलाई एउटै जहाजबाट ३ अर्बसम्म उडानबाट हुने आम्दानी घाटा लाग्ने छ। जसका कारण जहाज उडानका लागि जसरी पनि इन्जिन भाडामा लिनुपर्ने छ। अहिले वाइडबडीको इन्जिन भाडामा लिने दैनिक २० हजार डलरभन्दा बढी खर्च लाग्छ। यही हिसाबमा निगमले चारवटा इन्जिन मर्मत तथा चारवटा इन्जिन भाडामा लिन १० अर्ब रूपैयाँभन्दा बढी खर्च लाग्छ।
निगमले तत्कालको अवस्थामा १० अर्ब रूपैयाँ खर्च गर्न सक्ने अवस्था छैन। जहाज खरिदमा लिएको ३४ अर्ब ऋण बढेर ५० अर्बको हाराहारी पुगिसेको छ। जहाज खरिदमा लिएको ऋणको ब्याज र किस्ता तिर्न नै एक किस्ता वापत १ अर्ब ३० करोड रूपैयाँ हारहारी लाग्छ। यो रकम साउनपछिको हकमा लागु हुने छ।
तर अहिले पनि प्रति किस्ता १ अर्ब २६ करोड रूपैयाँ रहेको छ। पछिल्लो २ किस्ताबापत निगमले जहाजको ऋण खरिदमा १ अर्ब ६ करोड रूपैयाँमात्रै तिर्न सकेको छ। यसबाट नै के प्रष्ट हुन्छ भने निगमले जहाज उडानबाट कमाएको रकमले खर्च धान्न सकेको छैन। झन् वाइडबडी जहाज नै ग्राउन्डेड भएपछि निगम आर्थिकरुपमा सबल हुनसक्ने अवस्था देखिँदैन।