काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच बढ्दो आर्थिक सम्बन्धबाट नेपालले व्यापार, लगानी, पूर्वाधार, ऊर्जा र पर्यटनमा लाभ लिन सक्ने बताएका छन्। चीन र भारतको आर्थिक विस्तारलाई अवसरका रूपमा उपयोग गर्दै नेपाललाई दुई क्षेत्रबीचको आर्थिक पुलका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।
ललितपुरमा शुक्रबार आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया: विकसित क्षेत्रीय व्यवस्थामा चीन-भारत-नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै खनालले नेपालको भौगोलिक अवस्थालाई आर्थिक अवसरमा बदल्नुपर्ने बताए।
उनका अनुसार नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकता आर्थिक कूटनीति हो। विदेशी सम्बन्धलाई व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि र नवप्रवर्तनका अवसरसँग जोड्नु आर्थिक कूटनीतिको उद्देश्य रहेको उनले बताए।
दक्षिण एसियामा ठूलो आर्थिक सम्भावना भए पनि क्षेत्रीय आर्थिक एकीकरण कमजोर रहेको उल्लेख गर्दै खनालले कनेक्टिभिटी, व्यापार सहजीकरण, लगानी प्रवाह र आपूर्ति शृंखला विस्तार गर्न सके नेपालसहित यस क्षेत्रका मुलुकले लाभ लिन सक्ने बताए।
नेपालले आफ्नो भौगोलिक अवस्थालाई चीन र दक्षिण एसियाबीचको व्यापारिक आवागमन र आर्थिक सम्बन्ध विस्तारमा उपयोग गर्न सक्ने उनको भनाइ थियो। भूपरिवेष्ठित मुलुकका रूपमा रहेको अवस्थालाई आर्थिक अवसरमा बदल्दै नेपाललाई चीन र दक्षिण एसियालाई जोड्ने पुलका रूपमा विकास गर्ने लक्ष्य सरकारले लिएको उनले बताए।
खनालले आर्थिक कूटनीतिको सफलता कति वटा सम्झौता वा समझदारी भए भन्ने आधारमा नभई त्यसबाट सिर्जना हुने वास्तविक आर्थिक अवसरबाट मापन हुनुपर्ने बताए। व्यापार विस्तार, लगानी आकर्षण, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमार्फत नागरिकको आय र जीवनस्तर सुधार गर्नु आर्थिक कूटनीतिको मुख्य उद्देश्य रहेको उनले बताए।
आर्थिक रूपान्तरणका लागि गुणस्तरीय लगानी, पूर्वाधार विकास, निर्यात, पर्यटन, स्वच्छ ऊर्जा, डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र निजी क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
नेपालमा जलविद्युत्, जलस्रोत, कृषि, जैविक विविधता र डिजिटल अर्थतन्त्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै खनालले यी क्षेत्रलाई क्षेत्रीय आर्थिक सहकार्यसँग जोड्न सकिने बताए। विशेषगरी जलविद्युत्लाई क्षेत्रीय बजारसँग जोड्न सके व्यापार र लगानी विस्तारको आधार तयार हुने उनको भनाइ थियो।
उनले नेपालसँग ४२ हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता रहेको बताए। जलविद्युत्सँगै पर्यटनलाई पनि क्षेत्रीय आर्थिक सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा उनले उल्लेख गरे। बुद्धको जन्मस्थल, सगरमाथा र विश्व सम्पदा सूचीमा रहेका सम्पदालाई क्षेत्रीय पर्यटनसँग जोडेर आर्थिक गतिविधि बढाउन सकिने उनको भनाइ थियो।
क्षेत्रीय कनेक्टिभिटीसँगै ऊर्जा सुरक्षा, डिजिटल रूपान्तरण, अनुसन्धान र नवप्रवर्तनमा सहकार्य विस्तार गर्नुपर्ने खनालले बताए। विश्वविद्यालय, अनुसन्धान संस्था र थिंक ट्याङ्कबीचको सहकार्यले पनि क्षेत्रीय आर्थिक सम्बन्धलाई बलियो बनाउन सक्ने उनले बताए।
बहुध्रुवीय विश्वमा नेपालले आफ्नो आर्थिक हितलाई केन्द्रमा राख्दै चीन, भारतसहित अन्य मित्रराष्ट्रसँग सहकार्य विस्तार गर्नुपर्ने उनले बताए। पारस्परिक हित र सम्मानमा आधारित सम्बन्धलाई सरकारले प्राथमिकता दिने उनको भनाइ थियो।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रको संयुक्त आयोजनामा सम्मेलन भएको हो।