बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले बढ्यो, ३९ करोड ८७ लाख रुपैयाँ खुद नाफा

शुक्रबार, साउन २२ २०८३
हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले बढ्यो, ३९ करोड ८७ लाख रुपैयाँ खुद नाफा

कर्जा विस्तारसँगै सम्पत्तिको गुणस्तरमा समेत सुधार आएको कम्पनीले जनाएको छ। अघिल्लो आवमा ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात गत आवमा घटेर १.८७ प्रतिशतमा झरेको छ।

काठमाडौं- व्यवसायी शेखर गोल्छाको स्वामित्व रहेको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा खुद नाफा ८४ प्रतिशतभन्दा बढीले बढाएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको हो।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा हुलास फिनसर्भको खुद नाफा २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ थियो। एक वर्षको अवधिमा कम्पनीको नाफा ८४.४५ प्रतिशतले बढेको हो।

कम्पनीको व्यवसाय विस्तारसँगै मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएपछि नाफामा समेत उच्च सुधार देखिएको हो। गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ।

व्यवसायको आकारमा समेत कम्पनीले आक्रामक विस्तार गरेको देखिन्छ। कम्पनीको कुल कर्जा अघिल्लो आवको ८ अर्ब २ करोड ५५ लाख रुपैयाँबाट बढेर १२ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुगेको छ। यसले एक वर्षमा कर्जा लगानी ५२ प्रतिशतले विस्तार भएको देखाउँछ।

कर्जा विस्तारसँगै सम्पत्तिको गुणस्तरमा समेत सुधार आएको कम्पनीले जनाएको छ। अघिल्लो आवमा ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात गत आवमा घटेर १.८७ प्रतिशतमा झरेको छ।

कम्पनीका अनुसार चुनौतीपूर्ण आर्थिक अवस्था र तरलता संकुचनका बाबजुद सुरुवाती चरणमै गरिएको असुली प्रयास तथा कर्जा प्रवाहमा कडाइ गरिएका कारण निष्क्रिय कर्जा नियन्त्रणमा राख्न सफल भएको हो।

‘अन्डरराइटिङ मापदण्डमा गरिएको कडाइ र सुरुवाती चरणमै गरिएको असुली प्रयासका कारण सम्पत्तिको गुणस्तर कायम राख्न सफल भएका छौँ,’ कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।

नाफामा भएको उच्च वृद्धिको प्रभाव कम्पनीको प्रतिसेयर आम्दानीमा समेत परेको छ। गत आवको अन्त्यसम्म कम्पनीको प्रतिसेयर आम्दानी २६.०४ रुपैयाँ रहेकोमा बढेर ४८.०४ रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ रहेको छ। त्यस्तै, रिटर्न अन इक्विटी २१.१२ प्रतिशत, कस्ट अफ फन्ड ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ। असार मसान्तसम्म कम्पनीको साधारण जगेडा कोषमा २८ करोड ३९ लाख रुपैयाँ रहेको छ।

गत आवको करिब ४० करोड रुपैयाँ खुद नाफासँगै अघिल्लो आवसम्मको सञ्चित मुनाफासमेत जोड्दा कम्पनीको वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ। यस आधारमा कम्पनीले कुल सञ्चित नाफाको करिब ९३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने अवस्था देखिएको छ। यद्यपि लाभांश वितरणको निर्णय कम्पनीको सम्बन्धित निकायबाट हुनुपर्नेछ।

नाफा र व्यवसाय विस्तारमा सुधार गरिरहेको हुलास फिनसर्भले प्राथमिक सेयर निष्कासनको समेत तयारी गरिरहेको छ। कम्पनीले बुक बिल्डिङ विधिबाट २० लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।

सेयर निष्कासनका लागि कम्पनीले दुई वर्षअघि नै एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। आईपीओ निष्कासनपछि कम्पनीको पुँजी संरचना थप विस्तार हुने अपेक्षा गरिएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ रहेको छ।

गोल्छा ग्रुपअन्तर्गतको हुलास फिनसर्भ हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कर्जा प्रदायक कम्पनी हो। कम्पनीले सन् २०१२ देखि ग्राहकलाई हायर पर्चेज तथा उपभोक्ता वित्तीय सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले ‘इन्स्टा फाइनान्स’मार्फत दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधनका साथै मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचर खरिदका लागि वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अनुसार प्रतिस्पर्धात्मक ब्याजदर तथा किस्ता सुविधामार्फत ग्राहकको खरिद प्रक्रियालाई सहज बनाउने रणनीतिमा कम्पनी केन्द्रित छ।

सन् २०१२ मा हुलास इन्भेस्टमेन्ट कम्पनीका रूपमा स्थापना भएको कम्पनीको नाम सन् २०२१ मा हुलास फिनसर्भमा परिवर्तन गरिएको थियो। त्यसपछि सन् २०२३ नोभेम्बरदेखि कम्पनीको नाम हुलास फिनसर्भ हायर पर्चेज कायम गरिएको हो।

कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी १५ प्रतिशत सेयरमा हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्सलगायत ६ जनाको स्वामित्व रहेको कम्पनीले जनाएको छ। हंशराज हुलासचन्द एन्ड कम्पनी नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हो। कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा रहेका छन्।


प्रकाशित : शुक्रबार, साउन २२ २०८३१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend