बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २२ २०८३
६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँबराबरको एक महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।

बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो।

केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्र बोलकबोल गर्नुपर्नेछ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २२ गते हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड देखि अधिकतम १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। समान ब्याजदर उल्लेख भएका बोलबाट कुल निष्काशित रकमभन्दा बढी रकमको माग भएमा प्रोराटा आधारमा बाँडफाँट गरिनेछ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन्। बोलकबोलमा निक्षेपकर्ताले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ।

स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिइने र संकलित निक्षेपका लागि छुट्टै खाता खोली जम्मा गरिने केन्द्रीय बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिमा निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ। उक्त निक्षेप रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन। यद्यपि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा गणना गर्न सकिनेछ।

संकलित निक्षेप रकम भुक्तानी मितिअघि सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रिम्याच्योर भुक्तानी गर्न पाइने छैन।


प्रकाशित : शुक्रबार, साउन २२ २०८३११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend