काठमाडौं- खल्तीमार्फत १०० रुपैयाँभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा स्वतः सहभागी हुने भएका छन्।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको कार्यक्रममा खल्तीले आफ्ना प्रयोगकर्ताका लागि सहभागिताको व्यवस्था मिलाएको हो। कार्यक्रमअन्तर्गत दैनिक एक जना विजेताले कर कट्टीपछि एक लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
खल्तीमार्फत भएका योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत आन्तरिक राजस्व विभागको प्लेटफर्ममा स्वतः पठाइने कम्पनीले जनाएको छ। योग्य कारोबारका आधारमा उपहार कुपन पनि स्वतः सिर्जना हुने र खल्ती एपमार्फत हेर्न सकिनेछ।
विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गर्नेछ। विजेतालाई मोबाइल फोन तथा इमेलमार्फत जानकारी गराइनेछ। खल्तीमार्फत कार्यक्रममा सहभागी भएका विजेतालाई कम्पनीले पनि विभिन्न माध्यमबाट जानकारी दिने जनाएको छ।
कम्पनीका अनुसार कार्यक्रममार्फत बिलमा आधारित कारोबारलाई प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी र कारोबारको अभिलेखीकरणलाई बढावा दिने उद्देश्य छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारी पहललाई आफ्ना प्रयोगकर्तासम्म पुर्याउन सहकार्य गरिएको बताए। उनले वित्तीय पारदर्शिता र डिजिटल अर्थतन्त्र निर्माणमा योगदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको बताए।