बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

च्याउबाट वार्षिक ८ लाख रूपैयाँ कमाउँछिन् दाङकी तुलसा, दुई जनालाई रोजगारी

बिहीबार , साउन २१ २०८३
च्याउबाट वार्षिक ८ लाख रूपैयाँ कमाउँछिन् दाङकी तुलसा, दुई जनालाई रोजगारी
फाइल तस्बिर

सानो माटोको कच्ची घर भाडामा लिएर च्याउखेती सुरु गरेकी तुलसा दाङको महिला उद्यममीका रुपमा चिरपरिचित छिन्।

दाङ- तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थालेकी छिन्। उनले निरन्तर १८ वर्षदेखि दाङमा च्याउखेती गर्दै आएका कारण आजकाल स्थानीयले उनलाई 'च्याउ दिदी'का उपनामले चिन्ने गरेका हुन्।

निरन्तर मेहनतका कारण च्याउ व्यवसायबाट तुलसा बुढामगरले तुलसीपुर उपमहानगरपालिका-६ मा सन्तोषजनक आम्दानी गरेकी छिन्। उनले करोडौँ पर्ने आकर्षक निवाससमेत निर्माण गरिसकिन्।

सामान्य लेखपढ गरेकी बुढा च्याउखेतीमै रम्न थालेकी छिन्। उनले उद्योगमा दुई जनालाई रोजगारी दिनुका साथै खर्च कटाएर वार्षिक ८ लाख रूपैयाँ बचत गर्छिन्।

सानो माटोको कच्ची घर भाडामा लिएर च्याउखेती सुरु गरेकी उनी दाङको महिला उद्यममीका रुपमा चिरपरिचित छिन्। उनी भन्छिन्, 'च्याउखेतीबाट आर्थिकरुपमा सक्षम हुनुका साथै आत्मनिर्भर बनेकी छु।'

च्याउ बिक्रीबाट तुलसाले लाखौँ रूपैयाँ बचत गरी पक्की घर तथा सम्पती जोड्न सफल भएकी छिन्। मगरले च्याउ, च्याउको अचार, सुकुटी विभिन्न मेला महोत्सवमा स्टल भाडामा लिएरसमेत बिक्री गरेकी छिन्।

तुलसाले बजारमा ताजा च्याउ प्रतिकेजी २२० रूपैयाँ, सुकुटी ३०० देखि ३८० रूपैयाँसम्म र अचार ५ सयदेखि ६ सय रूपैयाँमा बिक्री गर्छिन्। तीन लाख रूपैयाँबाट व्यवसाय सुरु भएको च्याउखेतीबाट एक करोड रूपैयाँबराबरको पक्की घर निर्माण गर्न सफल भएकी छन् तुलसा।

निरन्तर च्याउ उत्पादनमा लागेकै कारण उनको मेहनतको कदर गर्दै साना तथा मझौला उद्योगले निःशुल्क च्याउ प्रशोधन मेसिन उपलब्ध गराएको छ। 

चितवनमा च्याउखेती देखेपछि आकर्षित भएकी तुलसा दुई सन्तानकी आमा हुन्। आमाको मेहनत र लगनशीलताले सन्तानलाई पनि मेहनत गर्ने आदत बसेको तुलसाले सुनाइन्।

च्याउ एक प्रकारको हरितकण नभएको ढुसी (फन्जाइ) हो। जुन ओसिलो र कुहिएको वस्तुमा उम्रन्छ। नेपालमा कन्ये, गोब्रे र सीताकेजस्ता खानयोग्य च्याउको व्यावसायिक खेती गरिन्छ। तर, जंगली च्याउ खाँदा मानिसको मृत्युसमेत हुने गरेको छ। रासस


प्रकाशित : बिहीबार , साउन २१ २०८३१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend