काठमाडौं- नेपालमा डिजिटल भुक्तानी तीव्ररूपमा विस्तार भइरहेका बेला नेपाल राष्ट्र बैंकले वालेट तथा अन्य भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमा आन्तरिक नियन्त्रण, साइबर सुरक्षा र नियामकीय परिपालनामा गम्भीर कमजोरी फेला पारेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ को पेमेन्ट सिस्टम्स ओभरसाइट प्रतिवेदनअनुसार स्थलगत निरीक्षणका क्रममा केही संस्थाले ग्राहक परिचय प्रमाणीकरण (केवाईसी) पूरा नगरेका ग्राहकलाई समेत वालेट सञ्चालन गर्न दिएको, ग्राहकको रकम सुरक्षित राख्नुपर्ने हिसाब मिलान खातालाई अन्य प्रयोजनमा प्रयोग गरेको तथा बैंक खातामा रहेको मौज्दातभन्दा बढी रकम बराबरको विद्युतीय मुद्रा जारी गरेको भेटिएको छ। राष्ट्र बैंकले यस्ता अभ्यासले वित्तीय तथा सञ्चालन जोखिम बढाउने जनाएको छ।
प्रतिवेदनअनुसार केही संस्थाले सञ्चालक समितिबाट आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन नीति नियमित समीक्षा गरेका छैनन्। कतिपय संस्थामा नियामकीय पालना अधिकृतलाई नै पूर्ण प्रशासनिक पहुँच दिइएको छ जसले गर्दा हिसाब मिलान खाताबाट वालेटमा रकम स्थानान्तरण गर्न सकिने अवस्था रहेको राष्ट्र बैंकले औँल्याएको छ। सुशासन र आन्तरिक नियन्त्रणको गम्भीर कमजोरीका रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ।
निरीक्षणका क्रममा धेरै संस्थाले प्रणालीको सुरक्षा कमजोरी पहिचान गर्ने परीक्षण नगरेको, प्रणाली बिग्रिएपछि पुनः सञ्चालन गर्ने योजना कार्यान्वयन नगरेको, त्यस्तो योजना प्रभावकारी छ कि छैन भनेर नियमित अभ्यास नगरेको तथा एन्टिभाइरससमेत समयमै नवीकरण नगरेको भेटिएको छ। केही वालेटमा निश्चित समयसम्म निष्क्रिय रहेपछि प्रयोगकर्ता स्वतः लगआउट हुने व्यवस्था पनि प्रभावकारी नभएको प्रतिवेदनमा उल्लेख छ।
कतिपय संस्थाले प्रमुख कार्यकारी अधिकृत समयमै नियुक्त नगरेको, राष्ट्र बैंकको सुपरीवेक्षण सूचना प्रणालीमा दैनिक तथा मासिक विवरण नबुझाएको तथा इजाजतपत्रको उद्देश्यभन्दा बाहिरका सेवा सञ्चालन गरेको पनि निरीक्षणमा देखिएको छ।
राष्ट्र बैंकले स्थलगत निरीक्षणसँगै अफसाइट सुपरिवेक्षणमा पनि थप कमजोरी फेला पारेको जनाएको छ। केही संस्थाले आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र बाह्य लेखापरीक्षण सम्पन्न नगरेको, सञ्चालक वा शेयरधनीले संस्थाबाट ऋण लिएको, सूचना सुरक्षा तथा जोखिम व्यवस्थापन अधिकृत नियुक्त नगरेको, सम्बन्धित पक्षसँग कारोबार गरेको तथा नकारात्मक सञ्चितिका कारण व्यवसायको निरन्तरतामै प्रश्न उठ्ने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष २०२४/२५ मा क्यूआरमार्फत हुने कारोबार संख्या ९२.५ प्रतिशत र कारोबार रकम ९१.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७७ लाख र मोबाइल वालेट प्रयोगकर्ता २ करोड ६७ लाख पुगेका छन्। प्रतिवेदनअनुसार क्यूआर अहिले नेपालमा सबैभन्दा धेरै प्रयोग हुने डिजिटल भुक्तानी माध्यम बनेको छ।
डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला संस्थाहरूले आन्तरिक नियन्त्रण, ग्राहकको रकमको सुरक्षा, साइबर सुरक्षा र नियामकीय पालना सुदृढ नगरे वित्तीय, सञ्चालन तथा अनुपालनसम्बन्धी जोखिम अझ बढ्न सक्ने निष्कर्ष राष्ट्र बैंकले निकालेको छ।