बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २३ रूपैयाँ ४८ पैसा

बिहीबार , साउन २१ २०८३
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २३ रूपैयाँ ४८ पैसा

कर्जा असुलीमा आएको सुधारका कारण बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ७७ करोड ८७ लाख रूपैयाँबाट उल्लेख्य घटेर १३ करोड ५० लाख रूपैयाँमा झरेको छ।

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडको बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा वृद्धि देखिएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा बैंकले फड्को मारेको छ।

अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा २४ करोड ११ लाख रूपैयाँ रहेकोमा गत आर्थिक वर्षमा २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख रूपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख रूपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०८.५० प्रतिशतले वृद्धि भइ १ अर्ब २१ करोड ७८ लाख रूपैयाँ कायम भएको छ।

कर्जा असुलीमा आएको सुधारका कारण बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ७७ करोड ८७ लाख रूपैयाँबाट उल्लेख्य घटेर १३ करोड ५० लाख रूपैयाँमा झरेको छ।

यही जोखिम व्यवस्थापन तथा असुली सुधारका कारण बैंकको नाफामा उच्च वृद्धि भएको हो। नाफामा आएको फड्कोसँगै बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको ६ रूपैयाँ ६५ पैसाबाट बढेर २३ रूपैयाँ ४८ पैसा पुगेको छ।

नियमनकारी समायोजनहरूपश्चात् बैंकले सेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने आधार बलियो बनाएको छ। असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रूपैयाँ र अघिल्लो वर्षको सञ्चित नाफासमेत जोड्दा कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रूपैयाँ पुगेको छ। यसअनुसार बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १६ रूपैयाँ ९९ पैसा कायम भएको छ, जुन अघिल्लो वर्ष ५ रूपैयाँ ९ पैसा मात्र थियो।

lumbini bikash bank.PNG

असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रूपैयाँ रहेको छ भने कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रूपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकले ५७ अर्ब ४४ करोड ३३ लाख रूपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ५ करोड ६२ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा बैंकको कुल सम्पत्तिको आकार ६७ अर्ब ९३ करोड ७६ लाख रूपैयाँ पुगेको छ।


प्रकाशित : बिहीबार , साउन २१ २०८३११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend