काठमाडौं- भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अब अरूको सहयोगबिनै आफै फाराम भर्न सक्नेगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हाल प्रयोगमा रहेका लिखित फाराम सरलीकरण प्रक्रिया सुरु गरेको छ।
यसका लागि मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
समितिले हाल प्रयोगमा रहेका लिखित फारामहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्नेगरी सरलीकरणका सुझावसहितको प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्ने छ।
सोही प्रतिवेदनका आधारमा सरलीकृत फाराम कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने धेरै सेवाग्राहीले फाराम बुझ्न र भर्न अरूको सहयोग लिनुपर्ने अवस्था छ। यही समस्यालाई समाधान गर्न फारामलाई थप सरल, स्पष्ट र प्रयोगमैत्री बनाउने तयारी गरिएको हो।