काठमाडौं- काठमाडौं उपत्यकाको दिनप्रतिदिन जटिल बन्दै गएको ट्राफिक जाम, अव्यवस्थित सार्वजनिक यातायात, सडक सुरक्षा चुनौती र बढ्दो सवारी चापलाई व्यवस्थित गर्न नयाँ यातायात गुरुयोजना तयार पारिएको छ।
उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, सुरक्षित, भरपर्दो र समयमै गन्तव्यमा पुग्न सक्ने बनाउने लक्ष्यसहित तयार गरिएको गुरुयोजनाले २२ वटा प्रमुख पूर्वाधार आयोजना, मेट्रो रेल, बस र्यापिड ट्रान्जिट (बीआरटी), चक्रपथ विस्तार, अन्डरपास निर्माणदेखि यातायात सञ्चालन प्रणालीमा व्यापक संरचनात्मक सुधारका प्रस्ताव समेटेको छ।
यसअघि वि.सं. २०७० मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा तयार गरिएको यातायात गुरुयोजना कार्यान्वयन हुन नसकेपछि बदलिएको जनसंख्या, सवारी साधनको संख्या, यात्रुको माग र शहरी विस्तारलाई आधार मानेर नयाँ योजना अघि सारिएको हो।
पूर्वाधार विकास मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख सुशीलबाबु ढकालले नयाँ यातायात गुरुयोजनामा २२ वटा प्रमुख पूर्वाधार आयोजना, मेट्रो रेल, बीआरटी, चक्रपथ विस्तार तथा सार्वजनिक यातायातलाई कम्पनी मोडलमार्फत सञ्चालन गर्ने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए। ढकालका अनुसार उक्त गुरुयोजनाले काठमाडौं उपत्यकाको यातायात प्रणालीलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्ने लक्ष्य राखेको छ।
गुरुयोजनाले अहिलेको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षाको दृष्टिले कमजोर, अव्यवस्थित र यात्रुमैत्री हुन नसकेको निष्कर्ष निकालेको ढकालको भनाई छ। 'हाल उपत्यकामा सञ्चालनमा रहेका दर्जनौँ यातायात समितिहरू र हजारौँ निजी सवारी सञ्चालकबीच समन्वयको अभाव हुँदा सेवा प्रभावकारी हुन नसकेको उल्लेख गरिएको छ,' उनले भने।
२२ वटा ठूला पूर्वाधार आयोजना
गुरुयोजनाले उपत्यकाको यातायात व्यवस्थापनका लागि २२ वटा प्रमुख पूर्वाधार आयोजना अघि सारेको छ। ती आयोजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ।
सवारीको अत्यधिक चाप हुने स्थानहरूमा अन्डरपास, फ्लाइओभर तथा आधुनिक इन्टरसेक्सन निर्माण गरिनेछ। पहिलो प्राथमिकतामा रहेको नारायण गोपाल चोकमा आधुनिक इन्टरसेक्सन विकाससँगै अन्डरपास निर्माण गर्ने योजना समावेश गरिएको छ।
त्यस्तै, अहिले विभिन्न स्थानमा फरक–फरक चौडाइ रहेको चक्रपथलाई समान मापदण्डमा विस्तार गरिनेछ। चक्रपथ बाहिर रहेका साँघुरा पुल तथा सडकका अवरोध (बोटलनेक) हटाएर सडक क्षमता बढाउने योजना पनि गुरुयोजनामा समेटिएको छ।
रत्नपार्क-सूर्यविनायक मेट्रो रेल
दीर्घकालीन लक्ष्यका रूपमा रत्नपार्कदेखि सूर्यविनायक (जगाती) सम्म मेट्रो रेल सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। मेट्रो सञ्चालनका लागि आवश्यक पूर्वाधार, स्टेशन, ट्र्याक तथा सहायक संरचना निर्माण गर्ने योजना तयार गरिएको छ।
गुरुयोजनाले भविष्यमा उपत्यकाको सार्वजनिक यातायातको मुख्य आधार नै उच्च क्षमतायुक्त रेल प्रणाली बन्नुपर्ने आवश्यकता औँल्याएको छ।
चक्रपथ र उत्तर-दक्षिण करिडोरमा बीआरटी
सार्वजनिक बस सेवालाई छिटो, व्यवस्थित र समयमै सञ्चालन गर्न बस र्यापिड ट्रान्जिट (बीआरटी) प्रणाली सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
यसअन्तर्गत सम्पूर्ण चक्रपथमा छुट्टै लेनसहित बीआरटी सञ्चालन गरिनेछ। त्यसैगरी नारायणचोकदेखि सातदोबाटोसम्मको उत्तर-दक्षिण करिडोरमा पनि बीआरटी सेवा विस्तार गरिने योजना छ।
बीआरटी सञ्चालनपछि निजी सवारीको निर्भरता घट्ने, यात्रुको यात्रा समय कम हुने र सार्वजनिक यातायात थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।
८० प्रतिशत दुईपाङ्ग्रे सवारी विस्थापन गर्ने लक्ष्य
गुरुयोजनाको सबैभन्दा महत्वाकांक्षी लक्ष्यमध्ये एक उपत्यकामा रहेका दुईपाङ्ग्रे सवारीको प्रयोग उल्लेखनीय रूपमा घटाउनु हो।
अहिले काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीमध्ये ८० प्रतिशतभन्दा बढी दुईपाङ्ग्रे रहेको उल्लेख गर्दै यसले सडक जाम, दुर्घटना र प्रदूषण बढाएको निष्कर्ष निकालिएको छ।
त्यसैले सार्वजनिक यातायातलाई सुरक्षित, सहज, भरपर्दो, समयमै सञ्चालन हुने र यात्रुमैत्री बनाएर क्रमशः दुईपाङ्ग्रे सवारीको प्रयोग घटाउने रणनीति प्रस्ताव गरिएको छ।
६ वटा ब्लकमा विभाजन गरिने
यातायात सेवा सञ्चालनलाई वैज्ञानिक बनाउन सम्पूर्ण काठमाडौं उपत्यकालाई ६ वटा सेवा क्षेत्रमा विभाजन गर्ने प्रस्ताव गरिएको छ।
यसअन्तर्गत चक्रपथभित्रको क्षेत्रलाई एउटा ब्लक बनाइनेछ भने चक्रपथ बाहिरका क्षेत्रलाई पाँच वटा छुट्टाछुट्टै ब्लकमा विभाजन गरिनेछ।
हरेक ब्लकमा निश्चित कम्पनीले मात्र सेवा सञ्चालन गर्ने व्यवस्था गरिने भएकाले एउटै रुटमा अनावश्यक प्रतिस्पर्धा, दोहोरो सेवा र अव्यवस्थित सञ्चालन अन्त्य हुने अपेक्षा गरिएको छ।
६५ यातायात समितिलाई कम्पनीमा रूपान्तरण
हाल उपत्यकामा सञ्चालनमा रहेका करिब ६५ वटा यातायात विकास समिति तथा हजारौँ व्यक्तिगत सवारीधनीलाई एकीकृत गरी कम्पनी मोडलमा लैजाने प्रस्ताव पनि गुरुयोजनाको मुख्य आधार बनेको छ।
समितिको सट्टा ५ देखि ६ वटा ठूला कम्पनीमार्फत सेवा सञ्चालन गरिनेछ। यसबाट सवारी सञ्चालन, टिकट प्रणाली, समय तालिका, सेवा गुणस्तर तथा व्यवस्थापनलाई एउटै ढाँचामा ल्याउन सकिने विश्वास गरिएको छ।
यसले अहिले देखिएको रुट दोहोरिने, यात्रु तानातान गर्ने, अव्यवस्थित प्रतिस्पर्धा तथा सञ्चालनमा रहेको असमानतालाई समेत अन्त्य गर्ने अपेक्षा गरिएको छ।
यातायात प्राधिकरणलाई पूर्ण रूपमा सक्रिय बनाइने
गुरुयोजनाले हालको यातायात प्राधिकरणलाई पूर्ण रूपमा कार्यक्षम बनाउने प्रस्ताव गरेको छ।
यातायात सेवा सञ्चालन, पूर्वाधार विकास, रुट व्यवस्थापन, कम्पनी नियमन, भाडा निर्धारण तथा समग्र सार्वजनिक यातायातको समन्वय एउटै निकायबाट हुने व्यवस्था गर्ने लक्ष्य राखिएको छ।
प्राधिकरणले सेवा र पूर्वाधार दुवै पक्षको दीर्घकालीन योजना, अनुगमन र व्यवस्थापन गर्ने गरी संस्थागत क्षमता विकास गरिने उल्लेख गरिएको छ।
ठूलो लगानी आवश्यक, बजेट अझै तय छैन
गुरुयोजनामा प्रस्ताव गरिएका आयोजना कार्यान्वयनका लागि ठूलो मात्रामा लगानी आवश्यक पर्ने उल्लेख गरिएको छ। यद्यपि प्रत्येक आयोजनाको विस्तृत लागत तथा कुल बजेट भने अझै निर्धारण गरिएको छैन।
जनसंख्या वृद्धि, सवारीको संख्या, यात्रु माग (ट्राभल डिमान्ड) र भविष्यको शहरी विस्तारलाई आधार बनाएर चरणबद्ध रूपमा लगानी बढाउँदै जाने योजना छ।
सरकार, स्थानीय तह, विकास साझेदार र निजी क्षेत्रको सहकार्यमा पूर्वाधार निर्माण तथा सार्वजनिक यातायात सुधारका कार्यक्रम अघि बढाउने अवधारणा पनि गुरुयोजनाले समेटेको छ।