काठमाडौ- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ निक्षेप संकलनका गर्ने भएको छ।
बैंकले ९० दिने अवधिका लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो।
निक्षेप संकलनको बोलकबोल आज अर्थात् साउन २० गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ। साउन २० गते नै निष्कासन हुने यस उपकरणको साबा तथा ब्याज भुक्तानी भने कात्तिक १७ गते गरिनेछ।
यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोल गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ।
निक्षेप संकलनको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखिनेछ। यस्तै, स्वीकृत भएका बोलपत्र बापतको रकम बैंकले सम्बन्धित संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिने जनाएको छ। यदि निष्कासनका दिन खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलहरूमा सहभागी हुन बन्देज लगाइने राष्ट्र बैंकले चेतावनी दिएको छ।
यो निक्षेप संकलन गरिएको रकमलाई सम्बन्धित संस्थाले अनिवार्य नगद मौज्दात मा गणना गर्न नपाए पनि वैधानिक तरलता अनुपात तथा तरलता अनुपात मा गणना गर्न पाउनेछन्। साथै, संकलित रकम तोकिएको भुक्तानी मितिअघि फिर्ता नहुने राष्ट्र बैंकले जनाएको छ।