काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएसँगै नेपालका तीन ठूला वाणिज्य बैंक- नबिल बैंक, ग्लोबल आइएमई बैंक र एभरेस्ट बैंकबीच वित्तीय सूचकमा प्रतिस्पर्धा देखिएको छ। नाफा, लाभांश क्षमता, निक्षेप, कर्जा, कुल सम्पत्ति, सञ्चालन नाफा र खराब कर्जाजस्ता प्रमुख सूचकमा तीनै बैंकको अवस्था फरक-फरक देखिएको छ।
सबैभन्दा बढी खुद नाफा नबिल बैंकले कमाएको छ। बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ, जसले ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। एभरेस्ट बैंकले ५ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाउँदै तेस्रो स्थानमा रहेको छ।
नाफा वृद्धिदरमा पनि नबिल सबैभन्दा अगाडि देखिएको छ। नबिलको नाफा ३३.५० प्रतिशतले बढ्दा ग्लोबल आइएमईको २२.६७ प्रतिशत र एभरेस्टको ४.७५ प्रतिशतले वृद्धि भएको छ।
लाभांशको अपेक्षा गर्ने लगानीकर्ताका लागि पनि नबिल बैंक सबैभन्दा बलियो देखिएको छ। बैंकको कुल वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंकको कुल वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ भने एभरेस्ट बैंकको ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।
व्यवसाय विस्तारतर्फ भने ग्लोबल आइएमई बैंकले आफ्नो अग्रता कायम राखेको छ। बैंकको निक्षेप ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन तीन बैंकमध्ये सबैभन्दा बढी हो। नबिल बैंकको निक्षेप ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ र एभरेस्ट बैंकको ३ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ।
कर्जा लगानीतर्फ भने नबिल बैंक अग्रस्थानमा देखिएको छ। बैंकको कर्जा ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंकको कर्जा ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने एभरेस्ट बैंकले २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सम्पत्तिको आकारका आधारमा भने ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो देखिएको छ। बैंकको कुल सम्पत्ति ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। नबिल बैंकको कुल सम्पत्ति ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ रहेको छ।
सञ्चालन नाफामा पनि नबिल बैंक अग्रस्थानमा छ। बैंकको सञ्चालन नाफा ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंकको सञ्चालन नाफा ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ र एभरेस्ट बैंकको ७ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।
कर्जा गुणस्तरतर्फ हेर्दा एभरेस्ट बैंक सबैभन्दा बलियो देखिएको छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) ०.४९ प्रतिशत मात्र रहेको छ। ग्लोबल आइएमई बैंकको शुद्ध खराब कर्जा (नेट एनपीएल) ०.५९ प्रतिशत छ। कुन खराव कर्जा भने ४.९६ प्रतिशत रहेको छ। नबिल बैंकको कुल खराब कर्जा (ग्रस एनपीएल) ४.२० प्रतिशत रहेको छ। यद्यपि ग्लोबल आइएमईले शुद्ध खराब कर्जा र नबिल तथा एभरेस्टले कुल खराब कर्जा सार्वजनिक गरेकाले यी सूचक प्रत्यक्ष रूपमा तुलना गर्दा केही सावधानी आवश्यक हुन्छ।
यसैगरी, ग्लोबल आइएमई बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम २०.२४ प्रतिशतले घटाएको छ भने नबिल बैंकले पनि इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा घटाउन सफल भएको छ। एभरेस्ट बैंकमा भने इम्पेरमेन्ट खर्च बढेकाले नाफा वृद्धिदरमा केही दबाब परेको देखिन्छ।
प्रमुख सूचकहरूको तुलना
|
सूचक |
नबिल |
ग्लोबल |
एभरेस्ट |
|
खुद नाफा |
७.९१ अर्ब |
६.२३ अर्ब |
५.०६ अर्ब |
|
नाफा वृद्धिदर |
३३.५०% |
२२.६७% |
४.७५% |
|
वितरणयोग्य मुनाफा |
५.१७ अर्ब |
४.५८ अर्ब |
३.८० अर्ब |
|
निक्षेप |
५.९३ खर्ब |
६.६९ खर्ब |
३.१६ खर्ब |
|
कर्जा |
४.६० खर्ब |
४.३९ खर्ब |
२.३५ खर्ब |
|
कुल सम्पत्ति |
७.३५ खर्ब |
८.२१ खर्ब |
३.८३ खर्ब |
|
सञ्चालन नाफा |
११.५६ अर्ब |
८.६८ अर्ब |
७.३८ अर्ब |
|
खराब कर्जा |
४.२०% |
४.९६% |
०.४९% |