काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार असुलीमा सुधार, कर्जा नोक्सानी व्यवस्थामा कमी र सञ्चालन आम्दानीमा भएको वृद्धिका कारण बैंकको खुद नाफा, वितरणयोग्य नाफा तथा सम्पत्तिको आकारमा उल्लेख्य सुधार देखिएको छ।
बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँबाट २२.६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकले १६ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँको तुलनामा करिब २.८६ प्रतिशतले कम हो।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) घट्नु प्रमुख कारण बनेको छ। कर्जा नोक्सानी व्यवस्था ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँबाट २०.२४ प्रतिशतले घटेर ४ अर्ब ७८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। यससँगै सञ्चालन नाफा पनि ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँबाट २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ।
लाभांश क्षमतातर्फ पनि बैंकको अवस्था बलियो देखिएको छ। नियामकीय समायोजनपछि खुद वितरणयोग्य नाफा ३ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफा तथा नगद लाभांश समायोजनपछि कुल वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ। साधारण सेयरधनीका आधारमा प्रतिसेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा कायम भएको छ।
बैंकको निक्षेप २१.५३ प्रतिशतले बढेर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.१३ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति ६ खर्ब ८८ अर्ब ८० करोड रुपैयाँबाट बढेर ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। चुक्ता पूँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको कुल इक्विटी ६९ अर्ब ८० करोड ६२ लाख रुपैयाँ पुगेको छ।
कर्जा गुणस्तरतर्फ पनि बैंकले उल्लेख्य सुधार गरेको छ। शुद्ध खराब कर्जा १.२२ प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा झरेको छ, जसले बैंकको कर्जा जोखिम व्यवस्थापन प्रभावकारी भएको संकेत गर्छ।
बैंकको प्रतिसेयर आम्दानी पनि बढेको, खराब कर्जा उल्लेख्य घटेको र वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड रुपैयाँ पुगेकाले आगामी लाभांश वितरण क्षमताप्रति सकारात्मक संकेत देखिएको छ।