काठमाडौं- एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ५ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ अर्ब ८३ करोड रुपैयाँको तुलनामा ४.७५ प्रतिशत बढी हो। खुद ब्याज आम्दानीमा सामान्य वृद्धि, निक्षेप तथा कर्जा विस्तार र कोषको लागत घटेकाले बैंकको नाफा बढेको भए पनि कर्जा नोक्सानी व्यवस्थापन (इम्पेरमेन्ट) खर्च बढ्दा नाफा वृद्धिमा केही दबाब परेको देखिएको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार ग्राहक निक्षेप ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा १०.३७ प्रतिशतले बढेर २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। सञ्चित नाफा १२.४९ प्रतिशतले बढेर ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १३.४५ प्रतिशतले वृद्धि भई १५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
सञ्चालन नाफा ०.४९ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। तर, अघिल्लो आर्थिक वर्षमा १५ करोड ५३ लाख रुपैयाँ इम्पेरमेन्ट राइट–ब्याक (लाभ) रहेको बैंकले यस वर्ष २७ करोड २८ लाख रुपैयाँ इम्पेरमेन्ट खर्च व्यहोर्नुपरेकाले नाफा वृद्धिमा दबाब परेको हो।
यद्यपि बैंकले कोषको लागत (कस्ट अफ फन्ड) ३.८७ प्रतिशतबाट घटाएर ३.१५ प्रतिशतमा झार्न सफल भएको छ, जसले समग्र नाफा सुधारमा सहयोग पुगेको देखिन्छ।
लाभांश क्षमताको हिसाबले बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ, जसले आगामी लाभांश वितरणका लागि बलियो आधार तयार भएको संकेत गर्छ।
वित्तीय सूचकतर्फ प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ। अघिल्लो वर्ष यो ३७ रुपैयाँ ३९ पैसा थियो। प्रतिशेयर नेटवर्थ भने बढेर २५६ रुपैयाँ ४७ पैसा पुगेको छ।
बैंकको खराब कर्जा (एनपीएल) ०.३८ प्रतिशतबाट बढेर ०.४९ प्रतिशत पुगेको छ। त्यस्तै, पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) १३.१७ प्रतिशतबाट घटेर १२.२३ प्रतिशतमा झरेको छ।
समग्रमा एभरेस्ट बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफा, निक्षेप, कर्जा र वितरणयोग्य नाफामा वृद्धि कायम राखे पनि इम्पेरमेन्ट खर्च बढ्नु र खराब कर्जामा सामान्य वृद्धि हुनु बैंकका लागि प्रमुख चुनौतीका रूपमा देखिएका छन्।