काठमाडौं- भारत सरकारले सवारीसाधनको दुर्घटना न्युनीकरण गर्न नयाँ नीति लागु गर्ने भएको छ। २०२८ अक्टोबर १ देखि विभिन्न वर्गका सवारीमा अनिवार्य भीटूभी भेहिकल टू भेहिकल कम्युनिकेसन प्रणाली अनिवार्य लागु हुने भएको हो।
भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयले २०२८ अक्टोबर १ वा त्यसपछि निर्माण हुने सम्पूर्ण एल, एम र एन वर्गका सवारीसाधनहरूमा 'भेइकल-टू-भेइकल' सञ्चार प्रणाली अनिवार्य जडान गर्ने प्रस्ताव अघि सारेको छ।
यसअघि नै यो प्रविधि जडान भइसकेका सवारीसाधनहरूले भने २०२७ अक्टोबर १ देखि नै तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ।
चरणबद्ध रुपमा लागु गर्न लागिएको नीतिले सवारी उत्पादक कम्पनी र अन्य सरोकारवालाहरूलाई नयाँ नियमअनुसार आवश्यक तयारी गर्न पर्याप्त समय मिल्ने अपेक्षा गरिएको छ। मन्त्रालयले सोमबार एक मस्यौदा सूचना जारी गर्दै सवारीसाधनमा यो सञ्चार प्रणाली क्रमशः लागु गर्न 'केन्द्रीय सवारीसाधन नियम १९८९' मा संशोधनको प्रस्ताव गरेको हो।
भारतीय सवारी नियमअनुसार एल वर्गमा दुईपाङ्ग्रे र तीनपाङ्ग्रे, एम वर्गमा कार, एसयूभी र बस जस्ता यात्रुबाहक सवारीसाधन तथा एन वर्गमा ट्रक र हल्का व्यावसायिक सवारीसाधनलगायतका मालबाहक सवारीसाधनहरू पर्दछन्।
देशभर हुने सडक दुर्घटनालाई उल्लेख्य रूपमा न्यूनीकरण गर्ने लक्ष्यका साथ टेलिकम विभागले भीटूभी तथा अन्य आधुनिक यातायात प्रणालीका लागि ५.८७५ जीएचजेडदेखि ५.९२५ जीएचजेडसम्मको फ्रिक्वेन्सी ब्यान्ड पनि छुट्याइसकेको छ।
कसरी काम गर्छ यो प्रविधिले?
भीटूभी सञ्चार प्रणालीले नजिकै गुडिरहेका सवारीसाधनहरूबीच उनीहरूको गति, लोकेसन, दिशा र गाडीको गतिजस्ता महत्त्वपूर्ण विवरणहरू तुरुन्तै आदानप्रदान गर्न मद्दत गर्छ। यो प्रविधिले एक्कासी ब्रेक लगाउनुपर्ने अवस्था, अगाडि गाडी ठोक्किने जोखिम, असुरक्षित रूपमा लेन परिवर्तन गर्दा वा आपतकालीन सवारीसाधनहरू नजिकिँदै गर्दा चालक वा सवारीको प्रणालीलाई पूर्व सूचना तथा चेतावनी दिन्छ।
परम्परागत सुरक्षा प्रणालीहरू मुख्यतया गाडीमा जडित सेन्सर र चालकको आफ्नै होसियारमा मात्र निर्भर हुन्छन्। तर भीटूभी सञ्चारले चालकको प्रत्यक्ष आँखाले नदेख्ने ठाउँका खतराबारे पनि पहिले नै सचेत गराउन सक्छ। त्यसैले यसले 'एडभान्स ड्राइभर असिस्टन्स सिस्टम'लाई थप सबल बनाउँदै पूर्व-सचेतनाद्वारा दुर्घटना रोक्न, सुरक्षित यात्रा सुनिश्चित गर्न र भविष्यका आधुनिक यातायात प्रविधिलाई अघि बढाउन ठूलो सहयोग पुर्याउने विश्वास भारत सरकारको छ।
यो नयाँ व्यवस्थाले चालकलाई आफ्नो वरपरको अवस्थाबारे पूर्ण सजग गराउनेछ, समयमै दुर्घटनाको चेतावनी दिनेछ र आधुनिक प्रविधिको प्रयोगमार्फत सडक सुरक्षालाई अझ मजबुत बनाउनेछ।
कनेक्टेड मोबिलिटीमा भारतको फड्को
चीन, जापान, अमेरिका र धेरै युरोपेली देशहरूले पाइलट परियोजनाहरू र निश्चित सवारीसाधनहरूमार्फत भीटूभी वा अझ व्यापक भीटूएक्स (सवारीसाधनदेखि सम्पूर्ण प्रणालीसम्म) प्रविधिहरू प्रयोगमा ल्याइसकेका भए तापनि कुनै पनि प्रमुख बजारले अहिलेसम्म यति ठूलो दायराका सवारीसाधनहरूमा भीटूभी सञ्चार अनिवार्य गरेका छैनन्।
सेलुलर-भीटूएक्स (सी-भीटूएक्स) को व्यापक प्रयोगसहित चीन कनेक्टेड सवारीसाधन प्रयोगमा विश्वव्यापी अग्रणीको रूपमा उभिएको छ भने जापानले उत्पादित सवारीसाधनहरू र इन्टेलिजेन्ट यातायात पूर्वाधारहरूमा भीटूएक्स प्रविधि लागु गरेको छ। युरोप र अमेरिकाले पनि उक्त प्रणालीको व्यापक परीक्षणहरू गरेका छन्। यद्यपि देशभर अनिवार्य गर्ने नियम भने अझै लागु हुन बाँकी छ।