काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार योजनालाई सहजीकरण र समन्वय गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ।
सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा बोर्डको पुँजी बजार नीतिमा उल्लिखित सुधारका कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउन यो कदम चालिएको हो।
बोर्डका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठित उक्त समितिमा बोर्डका तर्फबाट तीनजना प्रतिनिधि सहभागी छन्। त्यसैगरी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (स्बान) बाट एक-एक जना प्रतिनिधि समितिमा समावेश गरिएको छ।
यस समितिले मुख्यगरी मार्जिन लेन्डिङ, इन्ट्रा-डे ट्रेडिङ, धितोपत्र सापटी तथा उधारो (एसएलबी) र शर्ट सेलिङजस्ता आधुनिक औजारहरू सञ्चालनका लागि आवश्यक कानूनी, प्राविधिक, सञ्चालन तथा प्रक्रियागत खाका तयार पार्नेछ। बजार सुधारका यी प्रयासहरूलाई प्रभावकारी बनाउन समितिले आवश्यक परेमा बैंक तथा वित्तीय संस्थालगायत अन्य सरोकारवाला निकायहरूसँग समेत आवश्यक समन्वय र सहकार्य गर्ने जिम्मेवारी पाएको छ।
दोस्रो बजारलाई थप चलायमान र आधुनिक बनाउन बोर्डले चरणबद्ध रूपमा यी सुविधाहरू लागु गर्ने रणनीति बनाएको छ। जसअनुसार पहिलो चरणमा मार्जिन लेन्डिङ, दोस्रो चरणमा इन्ट्रा-डे ट्रेडिङ, तेस्रो चरणमा धितोपत्र सापटी तथा उधारो र चौथो चरणमा आवरणयुक्त (कभर्ड) शर्ट सेलिङको व्यवस्था गरिनेछ।
यसै योजनाअनुरूप समितिले मार्जिन लेन्डिङसम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल चलाउँदै आफ्नो औपचारिक कार्य अघि बढाइसकेको छ।