काठमाडौं- नेपाली खानाको विश्वव्यापी पहिचान बनाउने यात्रामा 'जिम्बु थकाली'मार्फत अर्को अध्याय थपिएको छ।
काठमाडौंमा सन् २०१६ मा थकाली रेस्टुरेन्टका रूपमा सुरु भएको 'जिम्बु थकाली' अहिले आफ्नो यात्रा विस्तार गर्दै पहिलो अन्तर्राष्ट्रिय शाखा लिएर भारत पुगेको हो।
भारत हरियाणा राज्यको व्यावसायिक केन्द्र गुरुग्राममा साउन १५ गतेदेखि सञ्चालनमा आएको जिम्बु थकालीले नेपाली मौलिक खाना, संस्कृति र आतिथ्यलाई विश्व बजारमा स्थापित गर्ने अभियानलाई अघि बढाएको छ।
मुस्ताङको थाकखोला क्षेत्रसँग सम्बन्धित शेरचन परिवारले थकाली खानाको मौलिक स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित जिम्बु थकाली स्थापना गरेको हो। अमेरिकाको आतिथ्य क्षेत्रमा सफल करियर बनाइरहेका विवेकमान शेरचन नेपाल फर्किएपछि पारिवारिक रूपमा यो व्यवसाय सुरु गरेका थिए।
कम्पनीका संस्थापक शेरचनका अनुसार भारतमा शाखा विस्तार गर्नु व्यवसाय विस्तार मात्र नभइ नेपाली खाना, हिमाली संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियान हो। उनका अनुसार गुरुग्राम शाखामार्फत भारतीय तथा अन्य मुलुकका ग्राहकलाई प्रामाणिक थकाली स्वादसँगै नेपालको जीवनशैली र संस्कृतिको अनुभव गराउने लक्ष्य राखिएको छ।
जिम्बु थकालीले नेपालको आतिथ्य उद्योगमा बलियो ब्रान्डको पहिचान बनाइसकेको छ। शेरचनका अनुसार स्थापना भएयता कम्पनीले २० लाखभन्दा बढी थकाली खाना सेटमार्फत ग्राहकलाई सेवा दिइसकेको छ। हाल काठमाडौंमा टंगाल, कालिमाटी, नयाँ बानेश्वर र झम्सीखेलमा चार शाखा सञ्चालनमा छन् भने गुरुग्रामसँगै कम्पनीले पहिलोपटक विदेशमा आफ्नो उपस्थिति विस्तार गरेको हो।
शेरचनका अनुसार भारतमा विस्तारको योजना भने यहीँबाट रोकिने छैन। भारत विशाल बजार भएकाले भविष्यमा 'सेन्ट्रल किचन' स्थापना गरेर विभिन्न सहरमा शाखा विस्तार गर्ने योजना छ।
'अहिले गुरुग्रामबाट सुरु गरेका छौँ। ग्राहकको प्रतिक्रिया र बजारको मागअनुसार विस्तार गर्दै जाने योजना छ। भारतका लागि छुट्टै सेन्ट्रल किचन बनाउने सोच पनि छ,' उनले भने।
गुरुग्राम शाखामा मात्रै करिब २ करोड भारतीय रुपैयाँ लगानी गरिएको छ। एकैपटक ९० जना ग्राहकले भोजन गर्न सक्ने क्षमता रहेको उक्त शाखा कम्पनीको हालसम्मकै सबैभन्दा महत्वाकांक्षी परियोजनामध्ये एक हो।
रेस्टुरेन्टको नाम हिमाली क्षेत्रमा पाइने सुगन्धित जडीबुटी ‘जिम्बु’बाट राखिएको हो। जिम्बु घ्यूमा फुराएर दाल तथा थकाली परिकारमा प्रयोग गरिन्छ, जसले विशिष्ट स्वाद र सुगन्ध दिन्छ। यही मौलिक पहिचानलाई आधार बनाएर कम्पनीले नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने प्रयास गरिरहेको छ।
भारतको गुरुग्राम शाखामा परम्परागत थकाली खाना सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी तथा जिम्बु र टिमुरको स्वाद समेटिएका परिकार उपलब्ध छन्। मौलिक स्वाद जोगाइराख्न जिम्बु, टिमुरलगायतका नेपाली रैथाने मसला नेपालबाटै आपूर्ति गरिएको छ भने अन्य ताजा सामग्री स्थानीयरूपमा व्यवस्थापन गरिएको छ।
परम्परागत थकाली परिकारसँगै चटामरी, बारा, विभिन्न प्रकारका मःमः, गुन्द्रुकको झोल, सेकुवा, जुजु धौबाट बनाइने मीठाइ तथा खुवा यमरीजस्ता नेपाली परिकार पनि मेनुमा समावेश गरिएका छन्।
'सञ्चालन सुरु भएको तीन दिनमै निकै राम्रो प्रतिक्रिया पाएका छौँ। यसले हामीलाई थप उत्साहित बनाएको छ', शेरचनले भने।
शेरचनको बुझाइमा काठमाडौंमा शनिबार परिवार वा साथीभाइसँग बाहिर गएर थकाली खाना खाने संस्कृतिलाई लोकप्रिय बनाउन जिम्बु थकालीले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
शेरचनका अनुसार तत्काल काठमाडौंबाहिर जिम्बु थकालीको शाखा विस्तार गर्ने योजना छैन। बौद्ध क्षेत्रमा अर्को शाखा खोल्ने तयारी भने भइरहेको छ।
रेस्टुरेन्टभित्रै नेपालको अनुभूति
गुरुग्राम शाखा केवल खाना खाने स्थानमात्र होइन नेपाल चिनाउने सांस्कृतिक केन्द्रका रूपमा पनि तयार गरिएको छ।
रेस्टुरेन्टको भित्री सजावटमा नेपाली काष्ठकला, बुट्टेदार झ्याल, कलात्मक स्तम्भ तथा थकाली संस्कृतिको झल्को दिने सामग्री प्रयोग गरिएको छ। आधुनिक सुविधा र नेपाली वास्तुकलाको संयोजनमार्फत ग्राहकलाई नेपालकै वातावरण र नेपाली आतिथ्यको अनुभूति गराउने प्रयास गरिएको शेरचन बताउँछन्।
कम्पनीले उच्च गुणस्तरका सामग्री प्रयोग गर्दै प्रामाणिक थकाली भोजन उपलब्ध गराउने नीति निरन्तर अपनाउँदै आएको जनाएको छ।
थकाली पाक परम्पराको संरक्षण, नेपाली आतिथ्यको प्रवर्द्धन तथा गुणस्तर र दिगोपनमा सम्झौता नगरी नेपाली खानालाई विश्व बजारमा स्थापित गर्नु कम्पनीको मूल उद्देश्य रहेको छ।
गुरुग्रामबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको जिम्बु थकालीको लक्ष्य अब भारतका अन्य प्रमुख सहरमा विस्तार गर्नु हो। त्यसपछि अमेरिकाको न्यूयोर्कमा समेत शाखा सञ्चालन गर्ने योजना रहेको शेरचनले बताए।
'हाम्रो लक्ष्यअनुसार जिम्बु थकाली भारतका प्रमुख सहरमा विस्तार गर्दै, नेपाली खानालाई विश्वस्तरीय ब्रान्ड बनाउने अभियान अब अझ तीव्र रूपमा अघि बढ्छ,' शेरचनले भने।