काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्। परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँल्याए।
मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, 'अन्तर्राष्ट्रिय सहायता र व्यापारको महत्त्वपूर्ण पाटोलाई थप कसरी वृद्धि गर्न सकिन्छ भन्ने हो।'
वर्तमान भूराजनीतिक परिस्थितिबाट सिर्जित चुनौती तथा सीमिततालाई मध्यनजर गर्दै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पारेर अघि बढ्नुपर्ने विषयलाई सरकारले ध्यान दिएको उनको भनाइ छ।
नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले विगतमा कहाँ-कहाँ अवसर गुमाइयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, 'हामी लामो समयदेखि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ। अब त्यसबाट निस्केर हामीले कुन-कुन कुरामा अहिले काम गर्ने भन्ने बाटो पहिल्याउनुपर्ने हुन्छ।'
परराष्ट्रमन्त्री खनालले सबै क्षेत्रमा एकैपटक काम गर्न खोज्दा तथा सीमित स्रोतसाधन सबै क्षेत्रमा परिचालन गर्दा अपेक्षित परिणाम हासिल हुन नसक्ने बताए। त्यसैले विदेशस्थित नेपाली नियोगहरूले कुन विषयलाई प्राथमिकतामा राखेर काम गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।
परराष्ट्रमन्त्री खनालले अबको वैश्विक परिवेशमा राजनीतिक शक्ति आर्थिक शक्तिबाट जोडिने भएकाले त्यसलाई मध्यनजर गर्दै नीति तथा योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे। रासस