काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको वित्तीय अवस्थामा सुधार आएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा जम्मा १३ लाख ५१ हजार रुपैयाँमा सीमित रहेकोमा समीक्षा अवधिमा २२,८०१.५५ प्रतिशतले बढेर ३० करोड ९४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी १४.७२ प्रतिशतले बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष ५६ करोड ५५ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्षको ११ करोड २१ लाख रुपैयाँबाट बढेर ५३ करोड ९५ लाख रुपैयाँ कायम भएको छ।
खराब कर्जा असुलीमा आएको व्यापक सुधारका कारण अघिल्लो वर्ष १७ करोड २६ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) रहेकोमा गत वर्ष १९ करोड ४२ लाख रुपैयाँ राइटब्याक हुन पुग्यो। जसले नाफा बढाउन प्रमुख भूमिका खेलेको छ।
बैंकको नाफामा आएको उच्च वृद्धिसँगै सेयरधनीहरूका लागि लाभांश बाँड्न सक्ने क्षमतामा पनि बलियो सुधार आएको छ। अघिल्लो वर्ष ऋणात्मक स्थितिमा रहेको वितरणयोग्य नाफा नियमनकारी समायोजन र सञ्चित घाटा घटाइसकेपछि असार मसान्तसम्म १७ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
यस आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ३८ पैसा कायम भएको छ। जसले लगानीकर्ताहरूका लागि आकर्षक लाभांशको ढोका खोलेको छ।
यसैगरी बैंकको व्यावसायिक आकारमा पनि राम्रो विस्तार देखिएको छ। बैंकको निक्षेप संकलन १२.६३ प्रतिशतले बढेर १८ अर्ब ५८ करोड रुपैयाँ र कर्जा प्रवाह ८.८२ प्रतिशतले बढेर १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।
हाल १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको कुल जगेडा कोष, सञ्चित नाफा र सेयर प्रिमियमसहित कुल कोष ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ भने कुल सम्पत्तिको आकार २१ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ।