काठमाडौं- चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले आफ्नो १६औँ 'एलजी सीपशिक्षा' को सुरुवात गरेको छ। यस कार्यक्रममार्फत उद्योगको आवश्यकताअनुरूपको प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै नेपाली युवाहरूलाई सक्षम बनाउन भूमिका खेल्ने एलजीको उद्देश्य छ।
सन् २०२४ मा सुरु भएको यस कार्यक्रमअन्तर्गत हालसम्म १६ वटा प्रशिक्षण ब्याच सञ्चालन भइसकेका छन्। पोलिटेक्निक तथा इलेक्ट्रिकल र मेकानिकल तालिममार्फत हालसम्म ३३२ जना सहभागीले व्यावसायिक शिक्षा प्राप्त गरिसकेका छन्। हाल सुरु भएको १६औँ ब्याचमा १८ जना सहभागी रहेका छन्।
युवाहरूलाई बजारको मागअनुसारका व्यावसायिक तथा प्राविधिक सीप प्रदान गरी समाजमा योगदान पुऱ्याउने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले रोजगारीका अवसर बढाउनुका साथै दिगो जीविकोपार्जनको आधार तयार गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।
शिक्षा र रोजगारीबीचको दूरी कम गर्दै नेपाली युवाहरूलाई सफल करियर निर्माणको अवसर उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको एलजी सीपशिक्षा कार्यक्रमले व्यावहारिक तथा प्रयोगात्मक सिकाइमार्फत उच्च माग भएका प्राविधिक क्षेत्रमा आवश्यक दक्षता विकास गराउँदै आएको छ।
यस प्रशिक्षणको शुभारम्भको अवसरमा एलजी इलेक्ट्रोनिक्स सिंगापुर-बंगलादेश शाखाका प्रबन्ध निर्देशक जेराल्ड सङ्घो चुन तथा चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले हाल प्रशिक्षणमा सहभागी ब्याचको अवलोकन गरेका थिए।

चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाणले भने, 'व्यावहारिक सीपमार्फत मानिसलाई सक्षम बनाउनु सबैभन्दा अर्थपूर्ण लगानीमध्ये एक हो भन्ने हाम्रो विश्वास छ। एलजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा अझ धेरै व्यक्तिलाई अवसर सिर्जना गर्दै जीविकोपार्जनका सम्भावना विस्तार गरी देशको आर्थिक विकासमा योगदान पुऱ्याउने हाम्रो लक्ष्य हो। आगामी दिनहरूमा पनि दिगो करियर निर्माण र दक्ष जनशक्ति विकासमा हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।'