बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

अनावश्यकरुपमा ग्यास सञ्चित गरेर नराख्न बिक्रेता र उपभोक्तालाई कास्की प्रशासनको आग्रह

मंगलबार, साउन १९ २०८३
अनावश्यकरुपमा ग्यास सञ्चित गरेर नराख्न बिक्रेता र उपभोक्तालाई कास्की प्रशासनको आग्रह

पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्रीवितरणलाई सहज बनाउन आग्रह गरिएको छ।

गण्डकी- जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ।

कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उनको भनाइ छ।

पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्रीवितरणलाई सहज बनाउन आग्रह गरिएको उनले बताए। 'प्रशासनका तर्फबाट समन्वय भइरहेको छ, बजार अनुगमन पनि गरिरहेका छौँ, आज-भोलिसम्ममा तीनवटा बुलेट पोखरामा भित्रँदैछन्', सहायक प्रजिअ बरालले भने, 'अहिले देखिएको समस्या विस्तारै सहज हुँदैछ, उपभोक्तालाई पनि आश्वस्त हुन आग्रह छ।'

केही दिनअघि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सरोकार भएका पक्षबीचको बैठकले ग्यासको आपूर्ति, बिक्री र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो। ग्यास उद्योग तथा बिक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अद्यावधिक गर्न अनुरोध गरिएको उनले बताए।

यस्तै, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ। बिक्रेता र उपभोक्तालाई अनावश्यकरुपमा ग्यास सञ्चित नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा कालोबजारी नगर्न सचेत गराइएको कार्यालयले जनाएको छ।

ग्यास उद्योगलाई पनि बिक्रेतामार्फत सहीरुपमा ग्यासको वितरण भए/नभएको नियमित अनुगमन गर्न आग्रह गरिएको सहायक प्रजिअ बरालले बताए। बजार अनुगमनमा सहयोग गर्न र कुनै अनियमितता देखिएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सम्बद्ध सबै पक्षमा अनुरोध गरिएको छ। रासस


प्रकाशित : मंगलबार, साउन १९ २०८३१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend