काठमाडौं- अत्यधुनिक एवम् प्रिमियम विद्युतीय एसयूभी लिपमोटर बी०३ एक्स आधिकारिक रूपमा नेपाल आइपुगेको छ। नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले यो बहुप्रतीक्षित ईभीलाई यही शुक्रबार औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।
’इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ।
नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखि तयार पारिएको लिपमोटर बी०३ एक्सले दैनिक व्यावहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ। यस श्रेणीमै उत्कृष्ट १ सय ४५ किलोवाटको मोटर र ५३ किलोवाट आवरको ब्याट्री क्षमता रहेको यस एसयूभीले ५ सय ५ किलोमिटरसम्मको (सीएसटीसी प्रमाणित) रेन्ज दिने कम्पनीले जनाएको छ।
साथै यसमा ५ सय १० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको छ। सुरक्षाका दृष्टिले यसमा एडीएएस लेभल २ प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
विश्वव्यापी रूपमा मासेराती, जिप र प्युजोलगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ। चीनको नम्बर १ स्टार्ट-अप न्यु इनर्जी भेहिकल ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।
जसमध्ये जुलाई महिनामा मात्रै १ लाख वटा भन्दाबढी बिक्री भएका थिए। विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १ हजार ७ सयभन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको छ।
यसअघि लिपमोटरका सी १० बी १० तथा टी०३ नेपाली बजारमा उपलब्ध रहेका छन्।