काठमाडौं- सिप्रदी र यात्री मोटरसाइकलको संयुक्त उपक्रममा बनेको सिप्रदी यात्री प्रालिले नेपालमै डिजाइन तथा उत्पादन गरेको विद्युतीय स्कुटर सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।
सिप्रदी यात्रीले उत्पादन गरेको विद्युतीय स्कुटर आगामी भदौमा हुने नाडा अटो शो २०२६ मा औपचारिक रूपमा सार्वजनिक हुने तयारी गरिएको छ। कम्पनीले उत्पादन गरेको विद्युतीय स्कुटर हजारौँ किलोमिटर परीक्षण भइसकेको छ।
सिप्रदी यात्री 'प्रोजेक्ट टू' नाममा विद्युतीय स्कुटर उत्पादन गरेर परीक्षण जारी राख्दै मास प्रोडक्सनमा जाने तयारीमा रहेको छ।
यात्री मोटरसाइकलको बुढालीलकण्ठमा रहेको डिजाइन स्टुडियोमा डिजाइन तथा प्रोटोटाइप तयार भएर मास प्रोडक्सनका लागि भने सिप्रदी यात्रीले धादिङको गजुरीमा उत्पादन प्लान्ट बनाइरहेको छ। धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा उद्योग संरचना तथा उत्पादन लाइन तयार भइरहेको छ।
उत्पादनमूलक मझौला वर्गको यो उद्योगमा ६६ जनाले प्रत्यक्ष रोजगारी पाउने छन्। कम्पनीको कुल पुँजी ५५ करोड रुपैयाँ रहेको छ। उद्योगले वार्षिक ३० हजार विद्युतीय स्कुटर उत्पादन गर्ने क्षमता राख्छ।
यात्री मोटरसाइकलसँगको सहकार्यमा सिप्रदीले नेपालमै विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने गरी दुई कम्पनीबीच लामो छलफलपछि २०८१ असारमा औपचारिक रुपमा रणनीतिक सम्झौता भएको थियो।
२०७६ पुसमा नेपालमै डिजाइन तथा उत्पादन भएको यात्रीको विद्युतीय मोटरसारइकल सार्वजनिक भएको थियो। डिजाइनमा अब्बल रहेको युवाको समूहले बनाएको यात्रीको विद्युतीय मोटरसाइकल विभिन्न उतारचढावबीच चलिरहेको छ। अपेक्षाकृत वृद्धि गर्न संघर्ष गरिरहेको यात्रीले बलियो स्वदेशी साझेदार सिप्रदीसँग रणनीतिक साझेदारी गरेसँगै सुरुमा विद्युतीय स्कुटर बजारमा ल्याउन लागेको हो।
नेपाली स्टार्टप कम्पनी यात्रीले गरेको डिजाइन र उत्पादन अब्बल भएको र उक्त ब्रान्डलाई प्रवर्द्धन गरेर नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन गर्न सिप्रदी अग्रसर भएको थियो। यात्री मोटरसाइकल सन् २०१७ मा स्थापना भएको थियो। कम्पनीले नेपालमै डिजाइन भएर बनेको यात्रीको पहिलो मोटरसाइकल प्रोजेक्ट वान सार्वजनिक गरेको थियो। विद्युतीय स्कुटरलाई यात्रीले प्रोजेक्ट टूका नाममा काम गरिरहेको छ।
सिप्रदी यात्री प्रालिले स्कुटरपछि विद्युतीय मोटरसाइकलसमेत मास प्रोडक्सन गर्ने तयारी गरिरहेको छ। पछिल्लो पटक नेपालमा विद्युतीय स्कुटर तथा मोटरसाइकलको आयात बढ्दै गएको छ। उपभोक्तामा क्रमिक रुपमा गुणस्तरीय विद्युतीय स्कुटर स्वीकार्यता बढ्दै गएको छ। विद्युतीय मोटरसाइकलको आयात पनि बढ्न थालेको छ।
यात्रीले बनाएका विद्युतीय मोटरसाइकल विश्वस्तरीय रुपमा प्रतिस्पर्धा गर्ने सक्ने खालको छ। यो मोटरसाइकलमा सिप्रदी यात्रीले प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने भएकाले राम्रो संख्यामा बिक्री हुने अनुमान धेरैको छ। सिप्रदी यात्रीले उत्पादन गर्ने विद्युतीय मोटरसाइकल विदेश निर्यात हुने सम्भावनासमेत धेरै रहेको छ।
६ जना इन्जिनियरसहितको टोलीले २०१७ बाट काम सुरु गरेर दुई वर्षमा यात्री मोटरसाइकलले आफ्नो पहिलो विद्युतीय मोटरसाइकल उत्पादन गरेको थियो। स्टार्टप कम्पनी भएपनि यात्री मोटरसाइकलसँग आफ्नै अनुसन्धान र विकास (आरएन्डडी) को काम गर्ने टिम बनेको थियो। स्पेयर पार्ट्सको डिजाइन पनि नेपालमै तयार पारिएको हो। स्पेयर पार्ट्स निर्माणका लागि अमेरिका, चीन, भारत र युरोपेली मुलुकका कम्पनीसँग यात्रीले सहकार्य गरेको थियो।
कार्बन फाइबर प्रयोग गरिएको मोटरसाइकल सुरक्षाको दृष्टिकोणले पनि बलियो मात्रै होइन आकर्षक र हलुकासमेत बनेको हो। डिजाइन र भिजनमा अब्बल रहेको यात्री मास मार्केट उत्पादनमा फैलिन सकेको थिएन।
सिप्रदीसँगको साझेदारीमा बनेको सिप्रदी यात्री प्रालिमा अब डिजाइन र लगानीको कमी नभएकाले नेपाली बजार सुहाउँदो विद्युतीय स्कुटर र मोटरसाइकल नेपालमै डिजाइन र उत्पादन भएर मास मार्केटमा बिक्री हुने अन्तिम तयारी रहेको छ।