काठमाडौं- नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २.३ प्रतिशतले बढी हो। सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए।
तथ्यांकले भारतीय पर्यटकले नेपाली पर्यटन बजारमा आफ्नो अग्रस्थान कायम राखेको देखाएको छ भने चिनियाँ पर्यटक आगमनमा उल्लेख्य सुधार देखिएको छ। जुलाईमा भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी आगमनको ३२.७३ प्रतिशत हो।
यस्तै, चीनबाट जुलाईमा ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० जनाको तुलनामा ६१.०९ प्रतिशतले बढी हो। अझ महत्त्वपूर्ण कुरा, चिनियाँ पर्यटक आगमन कोभिड-१९ महामारीअघिको स्तरलाई समेत उछिनेको छ। सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए भने यस वर्षको आगमन त्यसको तुलनामा ८.६५ प्रतिशतले बढी रहेको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ।
जुलाईमा अमेरिकाबाट ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन्। त्यसपछि बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन्।
सार्कबाट आगमन घट्यो
क्षेत्रगत रूपमा हेर्दा जुलाईमा सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाली मुलुकबाट आएका छन्। सार्क राष्ट्रबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो। तर, अघिल्लो वर्षको जुलाईमा ३३ हजार ७८७ जना पर्यटक आएको तुलनामा यस वर्ष सार्क बजारबाट आगमन ११.९३ प्रतिशतले घटेको छ।
सार्क मुलुकमध्ये भुटानबाट ९९१, पाकिस्तानबाट ४७५, श्रीलंकाबाट ५८१ र माल्दिभ्सबाट ३९ जना पर्यटक नेपाल आएका छन्। पाकिस्तानबाट आउने पर्यटक ३.९४ प्रतिशतले बढ्दा श्रीलंका र माल्दिभ्सबाट आउने संख्या भने केही घटेको छ।
अन्य एसियाली बजारमा ३३ प्रतिशत वृद्धि
दक्षिण एसियाबाहेकका अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन्। यो कुल आगमनको २४.२८ प्रतिशत हो। अघिल्लो वर्षको जुलाईमा यस्तो संख्या १३ हजार ५२ रहेको थियो। यसअनुसार अन्य एसियाली बजारबाट पर्यटक आगमन ३३.०५ प्रतिशतले बढेको छ।
यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक नेपाल आएका छन्।
युरोप र अमेरिकाबाट पनि उल्लेख्य आगमन
जुलाईमा युरोपबाट ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९३ प्रतिशत हो। युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार ७७३ जना पर्यटक आएका छन् भने जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ र रूसबाट ४६७ जना पर्यटक नेपाल आएका छन्।
त्यसैगरी अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ तथा अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटक नेपाल आएका छन्।
पर्यटन बोर्डको तथ्यांकले भारतीय बजारले निरन्तर बलियो योगदान दिइरहेको र चिनियाँ बजार तीव्ररूपमा पुनरुत्थान हुँदै कोभिडपूर्व अवस्थाभन्दा माथि पुगिसकेको देखाएको छ। यसले नेपालका लागि दुई ठूला स्रोत बजारबाट पर्यटन पुनरुत्थानले थप गति लिइरहेको संकेत गरेको छ।