बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

शिक्षामन्त्री पोखरेल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्यबारे छलफल

सोमबार, साउन १८ २०८३
शिक्षामन्त्री पोखरेल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्यबारे छलफल

त्यस्तै, विद्यालय शिक्षामा विशेषगरी खेलकुदको क्षेत्रमा चेस खेलको प्रवर्द्धन तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा छलफल भएको थियो।

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री एवं मंगोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र मंगोलियाबीचको कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो। उनीहरुबीच नेपाल र मंगोलिया दुवै देश भौगोलिक एवं सांस्कृतिक पक्षमा धेरै समानता र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहिआएको विषयमा पनि विचार विमर्श भएको थियो।

त्यस्तै, विद्यालय शिक्षामा विशेषगरी खेलकुदको क्षेत्रमा चेस खेलको प्रवर्द्धन तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबीचको लामो मैत्रिपूर्ण सम्बन्ध, समान भौगोलिकता अवस्थिति र संस्कृतिको विविध आयाबारेमा उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा खासगरी खेलकुदको क्षेत्रमा मंगोलियन सरकार र मंगोलियन चेस फेडेरेसनसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको बताए।

मन्त्री पोखरलेले नेपालले विद्यालय शिक्षामा नै खेलकुदलाई समायोजन गरेर अगाडि बढाउने दिशामा अगाडि बढिरहेको र त्यसका लागि मन्त्रालय सकारात्मक रहेको बताए। उनले खेल क्षेत्रमा सहकार्यका लागि नेपालको चेस फेडेरेसन र मंगोलियाको चेस फेडेरेसनबीच सहकार्यका लागि सकारात्मक पहल गर्ने विचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्री जान्दानशातारले मंगोलिया र नेपालबीचको कूटनीतिक सम्बन्ध, समान भौगोलिक तथा सांस्कृतिक रहनसहन एवं समानताबारे चर्चा गर्दै भूपरिवेष्टित मुलुक मंगोलियामा पनि बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको उल्लेख गरे।

उनले चेस एउटा खेल मात्र नभएर शिक्षाको महत्वपूर्ण माध्यम रहेको स्मरण गराउँदै मंगोलियाले दक्षिण एसियाका विभिन्न देशका साथै विश्वका अन्य मुलुकहरुसँग पनि मिलेर चेसलाई विद्यालय शिक्षामै समायोजन गर्ने विषयमा लामो समयदेखि कार्य गर्दै आएको जानकारी दिए। उनले त्यसका लागि नेपालको शिक्षा तथा खेलकुद मन्त्रालयसँग पनि सहकार्यका लागि तयार रहेको बताए।

जान्दानशातारले चेस विद्यार्थीहरुलाई समालोचनात्मक सोच गर्ने, निर्णयण गर्ने, स्वतन्त्र रुपमा निर्णय गर्नेलगायतका सीप विकासका साथै बौद्धिक विकासका लागि महत्वपूर्ण माध्यमको रुपमा रहेको स्पष्ट पारे।

उनले मंगोलियामा विद्यालय शिक्षामा नै चेसलाई एकीकरण र समायोजन गरेर अगाडि बढाइएको प्रसंग उल्लेख गर्दै नेपालको चेस फेडेरेसनसँग पनि चेसलाई नेपालको विद्यालय शिक्षासँग जोड्न मंगोलियन सरकारका तर्फबाट मंगोलियन चेस फेडेरेसनका तर्फबाट सहयोग र सहकार्य गर्न मंगोलिया तयार रहेकामा जोड दिए। रासस


प्रकाशित : सोमबार, साउन १८ २०८३१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend