काठमाडौं- आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवैमा सुधार देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्त (चौथो त्रैमास) सम्ममा संस्थाले ६ करोड २३ लाख ९९ हजार रूपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ४ करोड ४७ लाख ११ हजार रूपैयाँको तुलनामा ३९.५६ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३ करोड ५७ लाख रूपैयाँबाट बढेर १५ करोड ३६ लाख ५९ हजार रूपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी १७ करोड ५१ लाख ७ हजार रूपैयाँ रहेको संस्थाको सञ्चालन नाफा ५ करोड १७ लाख ७१ हजार रूपैयाँ रहेको छ।
वित्तीय विवरणअनुसार संस्थाको चुक्ता पुँजी ८ करोड ९५ लाख ७ हजार रूपैयाँ रहेको छ भने जगेडा तथा कोषमा २३ करोड ४८ लाख ५० हजार रूपैयाँ सञ्चित छ। यस अवधिमा संस्थाले १ अर्ब १३ करोड ६ लाख रूपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८८ करोड ४५ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ।
लघुवित्तको निष्क्रिय कर्जा (एनपीएल) अघिल्लो वर्षको १२.८० प्रतिशतबाट घटेर १०.७८ प्रतिशतमा झरेको छ। त्यस्तै संस्थाको फण्डको लागत (कस्ट अफ फण्ड्स) ८.४५ प्रतिशत र पुँजी कोष अनुपात (क्यापिटल फण्ड टू आरडब्लुए) १५.७३ प्रतिशत रहेको छ।