काठमाडौं- टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन छ। सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरू पालो पर्खिरहेका छन्।
नेपाल आयल निगमले एलपी ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्णरूपमा सहज रहेको दाबी जारी राखेको छ तर खुद्रा डिलरहरूमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर टेकु पुगेका सर्वसाधारण भने निगमको दाबी र धरातलीय यथार्थ बीच ठूलो अन्तर रहेको बताउँछन्।
नेशनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास बिक्री–वितरण गर्ने समय तोकिएको छ। मानिसहरू हिलो र घामपानीको पर्वाह नगरी लाइनमा उभिएका दृश्यहरू देख्न सकिन्छ।
नेपाल आयल निगमका अधिकारीहरूले ग्यास उद्योगीहरूलाई नियमित सुविधा दिइएको र भारतबाट बुलेटहरू निर्वाध रुपमा भित्रिरहेको दाबी गरेका छन्। निगमका अनुसार नागरिकले हडबढाएर आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न खोज्दा र स्थानीय डिलरहरूले कृत्रिम अभाव सिर्जना गर्दा समस्या देखिएको हो।
टेकुमा हजारौंको लाइन छ, यदि आयल निगमसँग पर्याप्त ग्यास छ भने भान्सा किन रित्ता छन्? भन्दै वितरण केन्द्रमा सञ्चारकर्मीहरू पुग्दा नागरिकहरूले आयल निगम र वाणिज्य विभागको फितलो अनुगमनमाथि आक्रोश व्यक्त गरेका थिए।
नेशनल ट्रेडिङ टेकु शाखाबाट ग्यास बिक्रीका लागि तोकिएको बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्मको ६ घन्टे समयसीमा आफैँमा पर्याप्त नभएको उपभोक्ताको गुनासो छ। सीमित घण्टामात्र बिक्री खुला गर्दा हजारौँ उपभोक्ता एकै ठाउँमा थुप्रिन पुगेका छन्।
ग्यास लिनका लागि उपभोक्ताहरूले टोकन प्रणाली वा अनलाइन दर्ताको व्यवस्था हुनुपर्ने माग गरेका छन्। अहिलेको परम्परागत भौतिक लाइनका कारण वृद्धवृद्धा, महिला र अपांगता भएका व्यक्तिहरूलाई अझ बढी कठिनाइ भएको छ।
उपभोक्ता अधिकारकर्मीका अनुसार नेपाल आयल निगमले काठमाडौंका डिलरहरूमा ग्यास भए/नभएको र कालोबजारी भएको छ कि छैन भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी बजार अनुगमन गर्नुपर्ने आवश्यकता छ।