बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कसरी सम्भव छ सन् २०४० सम्म वार्षिक ६३ लाख पर्यटक भित्र्याउने लक्ष्य?

सोमबार, साउन १८ २०८३
कसरी सम्भव छ सन् २०४० सम्म वार्षिक ६३ लाख पर्यटक भित्र्याउने लक्ष्य?

पर्यटन उत्पादनलाई पनि विविधीकरण गर्नुपर्छ। तराई क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका मनोरञ्जन पार्क, लुम्बिनीमा बौद्ध थिम पार्क, जनकपुरमा डेस्टिनेसन वेडिङ सेन्टर तथा नेपाललाई पूर्व-पश्चिम अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा विकास गर्न सकियो भने पर्यटकको बसाइ अवधि र खर्च दुवै बढ्नेछ।

नेपालमा पर्यटन क्षेत्रबारे चर्चा नयाँ होइन। प्रत्येक वर्ष लाखौँ पर्यटक भित्र्याउने घोषणा हुन्छ। नयाँ योजना सार्वजनिक हुन्छन्। पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा व्याख्या गरिन्छ। तर यति धेरै प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा हुँदाहुँदै पनि नेपालले किन आफ्नो वास्तविक पर्यटन क्षमता उपयोग गर्न सकेको छैन?

विश्व पर्यटन उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ। नयाँ गन्तव्य उदाइरहेका छन्। प्रविधिले यात्रा सहज बनाएको छ। मानिसहरू अब केवल घुम्न होइन, अनुभव लिन, लामो समय बस्न, काम गर्दै यात्रा गर्न, साहसिक गतिविधिमा सहभागी हुन, धार्मिक तथा सांस्कृतिक अनुभव लिन र स्वास्थ्य तथा शिक्षासँग जोडिएका यात्राका लागि पनि विभिन्न देश रोजिरहेका छन्।

यस्तो अवस्थामा नेपालसँग विश्वमै दुर्लभ प्राकृतिक सम्पदा, हिमाल, जैविक विविधता, बुद्धको जन्मभूमि, साहसिक पर्यटन, धार्मिक सम्पदा र जीवन्त संस्कृति भएर पनि अपेक्षित उपलब्धि हासिल हुन नसक्नु गम्भीर समीक्षा गर्नुपर्ने विषय हो।

यसमा सबैभन्दा स्पष्ट उदाहरण नेपाल र लाओसबीचको तुलना हो। क्षेत्रफलका हिसाबले लाओस नेपालभन्दा ठूलो भए पनि अन्तर्राष्ट्रिय पहिचानका हिसाबले नेपालको ब्रान्ड धेरै बलियो छ। नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश हो। बुद्धको जन्मभूमि हो। आठ हजार मिटरभन्दा अग्ला आठ हिमाल यहीँ छन्। साहसिक पर्यटन, पदयात्रा, वन्यजन्तु, धार्मिक पर्यटन र सांस्कृतिक सम्पदाका दृष्टिले नेपाल विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ।

तथ्यांकले भन्छ फरक कथा

सन् २०१९ मा लाओसले ४७ लाख ९० हजार विदेशी पर्यटक भित्र्याएको थियो। सन् २०२५ मा पनि उसले करिब ४५ लाख ८० हजार पर्यटक स्वागत गरेको छ। नेपालले भने सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ विदेशी पर्यटक भित्र्याएको थियो भने सन् २०२५ मा त्यो संख्या घटेर ११ लाख ५८ हजार ४ सय ५९ मा सीमित भएको छ। नेपाल अझै पनि कोभिडअघिको स्तरमा पूर्णरूपमा फर्किन सकेको छैन।

यसको अर्थ नेपालमा पर्यटक आउने सम्भावना कम छ भन्ने होइन। नेपालले आफ्नो सम्भावनाअनुसार काम गर्न सकेको छैन भन्ने देखिन्छ।

यदि लाओसले आफ्नो स्रोत र पूर्वाधारका आधारमा वार्षिक ४५ लाखभन्दा बढी पर्यटक भित्र्याउन सक्छ भने विश्वव्यापी ब्रान्ड मूल्य, हिमाली पर्यटन, बौद्ध पर्यटन, वन्यजन्तु, साहसिक गतिविधि र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालले त्योभन्दा धेरै पर्यटक आकर्षित गर्न नसक्नुको कारण प्राकृतिक स्रोतको कमी होइन, नीति, पूर्वाधार, पहुँच र बजार व्यवस्थापनको कमजोरी हो।

सन् २०४० सम्म वार्षिक ६३ लाख पर्यटक

सन् २०४० सम्म वार्षिक ६३ लाखभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिन्छ। कतिपयलाई यो महत्वाकांक्षी लाग्न सक्छ तर तथ्यांक हेर्दा यो लक्ष्य असम्भव होइन।

सन् २०२६ मा पर्यटक आगमनमा १० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ। यसअनुसार विदेशी पर्यटक संख्या १२ लाख ७४ हजार ३०५ पुग्नेछ। त्यसपछि सन् २०३२ सम्म लगातार औसत १५ प्रतिशत वार्षिक वृद्धि कायम गर्न सकिए पर्यटक संख्या २९ लाख ४७ हजार ५४५ पुग्नेछ। त्यसपछिका आठ वर्ष अर्थात् सन् २०३३ देखि २०४० सम्म वार्षिक १० प्रतिशतको स्थिर वृद्धि कायम राख्न सकिए नेपालले सन् २०४० सम्म ६३ लाख १८ हजार ३२४ विदेशी पर्यटक भित्र्याउन सक्ने प्रक्षेपण गरिएको छ।

यो केवल अंकगणितीय हिसाब होइन। यसको पछाडि विश्व पर्यटन उद्योगको प्रवृत्ति, नेपालको भौगोलिक अवस्था, दक्षिण एसियाली बजारको विस्तार, चीन र भारतजस्ता विशाल स्रोत बजारको निकटता तथा नेपालभित्र गर्नुपर्ने नीतिगत सुधारहरूको स्पष्ट खाका रहेको छ।

विश्व पर्यटन उद्योग स्वयं तीव्र गतिमा विस्तार भइरहेको छ। सन् २०२४ मा पर्यटन क्षेत्रले विश्वभर ३५ करोड ७० लाख रोजगारी सिर्जना गरेको थियो भने सन् २०२५ मा यो संख्या ३७ करोड १० लाख पुग्ने अनुमान गरिएको छ।

अझ महत्वपूर्ण कुरा सन् २०३५ सम्म विश्वभर थप ९ करोड १० लाख नयाँ रोजगारी पर्यटन क्षेत्रबाट सिर्जना हुने प्रक्षेपण छ। त्यस अवधिसम्म विश्वमा करिब ४ करोड ३० लाख दक्ष जनशक्तिको अभाव हुने अनुमान गरिएको छ, जसमा चीनमा १ करोड ६९ लाख, भारतमा १ करोड १० लाख र युरोपेली संघमा ६४ लाख जनशक्तिको कमी रहने देखाइएको छ।

नेपालका लागि यो केवल पर्यटन बढाउने अवसर मात्र होइन, पर्यटनसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने अवसर पनि हो। यदि विद्यालय तहदेखि पर्यटन तथा आतिथ्य शिक्षालाई व्यवस्थित रूपमा विकास गर्न सकियो भने नेपालले विश्व श्रम बजारलाई समेत जनशक्ति उपलब्ध गराउन सक्छ।

सन् २०४० सम्म ६३ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा भयो भने त्यसको प्रभाव होटल उद्योगमा मात्र सीमित रहने छैन। कृषि, खाद्य उद्योग, यातायात, हस्तकला, सूचना प्रविधि, निर्माण, बैंकिङ, बीमा, हवाई सेवा, मनोरञ्जन उद्योगदेखि स्थानीय साना व्यवसायसम्म त्यसको प्रत्यक्ष लाभ पुग्नेछ।

प्रस्तुत योजनाले पर्यटनको योगदान अहिलेको करिब ६/७ प्रतिशतबाट १०/१५ प्रतिशतसम्म पुर्‍याउने, करिब ५० लाख प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा आम्दानी ६ देखि १० गुणासम्म बढाउने तथा साना तथा मझौला उद्यमको उल्लेखनीय विस्तार हुने अपेक्षा गरेको छ।

तर यो लक्ष्य घोषणाले मात्र पूरा हुँदैन। यसको आधार पूर्वाधार विकास, सहज पहुँच, आधुनिक नीतिगत सुधार, नयाँ पर्यटन उत्पादन, प्रभावकारी अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र दक्ष मानव स्रोत विकासमा आधारित छ। यी सबै पक्षमा एकैसाथ सुधार गर्न सकियो भने ६३ लाख पर्यटकको लक्ष्य सपना होइन, नेपालको नयाँ आर्थिक यथार्थ बन्न सक्छ।

पूर्वधारमा लगानी आवश्यक

यो लक्ष्य हासिल गर्न सबैभन्दा पहिले पूर्वाधारमा विशेष लगानी आवश्यक छ। काठमाडौं-पोखरा-चितवन-लुम्बिनीलाई राष्ट्रिय पर्यटन सर्किटका रूपमा विकास गर्नुपर्छ। महेन्द्र राजमार्गलाई स्तरीय बनाउनुपर्छ। केरुङ र कोदारी राजमार्ग वर्षभर सञ्चालनयोग्य बनाउनुपर्छ।

सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारदेखि लुक्ला वा सुर्केसम्म सुरक्षित र आधुनिक पर्यटन मार्ग निर्माण गर्नुपर्छ। गुणस्तरीय सडक र सहज यात्रा बिना पर्यटन विस्तार सम्भव हुँदैन।

त्यसैगरी हवाई पहुँच सुधार अर्को प्रमुख आवश्यकता हो। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउनुपर्छ। धनगढी, नेपालगञ्ज, विराटनगर र जनकपुरलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्नुपर्छ।

भारत र चीनसँग डिजिटल ड्राइभ पास लागू गरी स्थलमार्ग पर्यटन विस्तार गर्नुपर्छ। युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाल हटाउन विशेष पहल आवश्यक छ। साथै नेपाल वायु सेवा निगमलाई संस्थागत सुधारमार्फत प्रतिस्पर्धी र नाफामुखी राष्ट्रिय ध्वजावाहकका रूपमा विकास गर्नुपर्छ।

पर्यटन विस्तारका लागि नीतिगत सुधार पनि उत्तिकै महत्त्वपूर्ण छ। डिजिटल भिसा, डिजिटल नोमाड भिसा, वर्केसन भिसा, रेसिडेन्सियल टुरिजम, व्यापारिक पर्यटनका लागि फ्री जोन, भैरहवालाई ड्युटी-फ्री तथा विमान मर्मत केन्द्रका रूपमा विकास गर्ने नीति नेपाललाई नयाँ पुस्ताका पर्यटक र अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य बनाउन सक्छ।

पर्यटन उत्पादनलाई पनि विविधीकरण गर्नुपर्छ। तराई क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका मनोरञ्जन पार्क, लुम्बिनीमा बौद्ध थिम पार्क, जनकपुरमा डेस्टिनेसन वेडिङ सेन्टर तथा नेपाललाई पूर्व-पश्चिम अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा विकास गर्न सकियो भने पर्यटकको बसाइ अवधि र खर्च दुवै बढ्नेछ।

यससँगै नेपाल पर्यटन बोर्डलाई अझ व्यावसायिक बनाउन, निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न, अन्तर्राष्ट्रिय डिजिटल इन्फ्लुएन्सर, टुर अपरेटर, ‘फ्रेन्ड्स अफ नेपाल’ तथा ‘नेपाली पर्यटन राजदूत’ जस्ता विश्वव्यापी सञ्जाल निर्माण गर्नुपर्ने आवश्यकता छ। नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धन परम्परागत शैलीबाट डिजिटल र बजारमुखी शैलीमा रूपान्तरण गर्नुपर्छ।

दीर्घकालीन रूपमा पर्यटन क्षेत्रलाई दिगो बनाउन मानव स्रोत विकासमा पनि समान रूपमा लगानी आवश्यक छ। विद्यालय तहदेखि पर्यटन तथा आतिथ्य शिक्षा सुरु गर्दै उद्योगसँग जोडिएको व्यावहारिक शिक्षा, पर्वतारोहण तथा साहसिक पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताप्राप्त तालिम र डिग्री कार्यक्रम सञ्चालन गर्नुपर्छ। विश्व पर्यटन क्षेत्रमा बढ्दो दक्ष जनशक्तिको मागलाई नेपालले अवसरका रूपमा उपयोग गर्न सक्छ।

(सुमन विक्रम पाण्डे हाल प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का उपाध्यक्ष हुन्। उनी सन् २०२४-२०२६ कार्यकालका लागि उक्त पदमा निर्वाचित भएका थिए। पाटाको इतिहासमा उपाध्यक्ष पदमा निर्वाचित हुने पहिलो नेपाली उनै हुन्।)


प्रकाशित : सोमबार, साउन १८ २०८३११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend