बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पूर्वीनाका काँकरभिट्टाबाट चिया निर्यातमा गिरावट, गत आवमा ३ अर्ब ५२ करोड रूपैयाँबराबरको पठाइयो

सोमबार, साउन १८ २०८३
पूर्वीनाका काँकरभिट्टाबाट चिया निर्यातमा गिरावट, गत आवमा ३ अर्ब ५२ करोड रूपैयाँबराबरको पठाइयो

परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट ६३ करोड ९६ लाख ८९ हजार रूपैयाँबराबरको गिरावट आएको छ।

झापा- पूर्वीनाका काँकरभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ। काँकरभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२/८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो।

भन्सार कार्यालयको तथ्यांकअनुसार आव २०८२/८३ मा ३ अर्ब ५२ करोड ९६ लाख ६९ हजार रूपैयाँबराबरको १३ हजार ४५ मेट्रिकटन चिया निर्यात भएको थियो भने आव २०८१/८२ मा ४ अर्ब १६ करोड ९३ लाख ५८ हजार रूपैयाँबराबरको १५ हजार ३११ मेट्रिकटन चिया निर्यात भएको थियो।

परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट ६३ करोड ९६ लाख ८९ हजार रूपैयाँबराबरको गिरावट आएको छ।

प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो स्थानमा पर्ने गरेको छ। नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय बजारमा आउने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध र अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको उनले बताए।

नेपालमा उत्पादित सीटीसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकरभिट्टा हुँदै भारतीय बजारमा पुग्ने गर्दछ। निर्यातमा आएको यो गिरावटले चिया उत्पादक किसान, उद्योगी र समग्र वैदेशिक व्यापार घाटामा असर पार्ने देखिन्छ। रासस


प्रकाशित : सोमबार, साउन १८ २०८३११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend