बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

उत्पादन सुस्त भए पनि व्यापारले धान्यो रियल स्टिल्स, कारोबार १३.२५ प्रतिशत बढ्यो

बुधबार, साउन २० २०८३
उत्पादन सुस्त भए पनि व्यापारले धान्यो रियल स्टिल्स, कारोबार १३.२५ प्रतिशत बढ्यो

काठमाडौं- निर्माण क्षेत्रको सुस्त बजारका कारण उत्पादन व्यवसाय प्रभावित भए पनि सहायक निर्माण सामग्रीको व्यापार विस्तार गर्दै रियल स्टिल्स प्रालिले सन् २०२५ मा आफ्नो कारोबार बढाउन सफल भएको छ।

रियल स्टिल्सको कुल सञ्चालन आम्दानी १ अर्ब ४० करोड ५० लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब २४ करोड १० लाख रुपैयाँको तुलनामा १३.२५ प्रतिशत बढी हो।

केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ प्रतिवेदनअनुसार स्टिल उत्पादनको माग कमजोर हुँदा कम्पनीले पछिल्ला दुई आर्थिक वर्षदेखि टीएमटी बार, सिमेन्ट, वेल्डिङ रडलगायत सहायक निर्माण सामग्रीको व्यापारलाई प्राथमिकता दिएको छ।

एक वर्षमा कम्पनीको कुल सञ्चालन आम्दानीमध्ये करिब ६९ प्रतिशत हिस्सा व्यापारिक कारोबारबाट आएको छ भने उत्पादन व्यवसायको योगदान अपेक्षाकृत कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ।

उत्पादन क्षमता पर्याप्त भए पनि बजार माग कमजोर हुँदा कम्पनीले आर्थिक वर्षभर वार्षिक उत्पादन क्षमताको करिब १३ प्रतिशतमात्रै उपयोग गर्न सकेको छ। यसले उत्पादनभन्दा व्यापारिक आम्दानीमा कम्पनीको निर्भरता बढाएको देखिन्छ।

यद्यपि कारोबार बढे पनि नाफामा भने दबाब कायम छ। कम्पनीको सञ्चालन नाफा (पीबीआईएलडीटी) मार्जिन अघिल्लो वर्षको १०.१६ प्रतिशतबाट घटेर ६.८५ प्रतिशत मा झरेको छ।

एक वर्षको अवधिमा कम्पनीले १० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ भने १ करोड ७० लाख रुपैयाँ मात्रै नगद सञ्चिति (ग्रस क्यास एक्रुअल) गरेको छ। केयर रेटिङ्सले उच्च ऋणभार, कमजोर माग र मूल्य प्रतिस्पर्धाका कारण कम्पनीको नाफा अझै दबाबमा रहेको जनाएको छ।

प्रतिवेदनअनुसार कम्पनीको कार्यशील पुँजीमा पनि दबाब बढेको छ। ग्राहकबाट रकम उठाउन लाग्ने अवधि ९१ दिनबाट बढेर ११२ दिन पुगेको छ भने सञ्चालन चक्र १७८ दिनबाट १९१ दिन पुगेको छ। यसले कम्पनीलाई बैंकको कार्यशील पुँजी कर्जामा थप निर्भर बनाएको उल्लेख गरिएको छ।

कम्पनीको वित्तीय अवस्था अझै उच्च ऋणमा आधारित रहेको देखिएको छ। आर्थिक वर्ष सन् २०२५  को अन्त्यसम्म समग्र गियरिङ अनुपात ४.८९ गुणा पुगेको छ भने ब्याज तिर्ने क्षमता (इन्टरेस्ट कभरेज) ०.९५ गुणा मा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ।

यिनै अवस्थाका बीच केयर रेटिङ्स नेपालले कम्पनीको ७५ करोड ४५ लाख ९० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंकिङ सुविधामा ‘केयर–एनपी बी+’ तथा ७६ करोड ५० लाख रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधामा ‘केयर–एनपी ए४’ रेटिङ यथावत् राखेको छ। कम्पनीको कुल बैंकिङ सुविधा १ अर्ब ५१ करोड ९५ लाख ९० हजार रुपैयाँ पुगेको छ।

प्रतिवेदनले स्टिल उद्योगमा तीव्र प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा उतारचढाव, विदेशी विनिमय जोखिम तथा परिवर्तनशील ब्याजदरलाई कम्पनीका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। भारतसँगको सीमावर्ती वीरगञ्जमा उद्योग रहेकाले ढुवानी लागतमा प्रतिस्पर्धात्मक लाभ, अनुभवी व्यवस्थापन तथा दीर्घकालमा पूर्वाधार विकाससँगै स्टिलको माग बढ्ने सम्भावनालाई कम्पनीका सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ।

सन् २०१८ मा स्थापना भएको रियल स्टिल्सले सन् २०२० देखि व्यावसायिक उत्पादन सुरु गरेको हो। कम्पनीले एमएस पाइप, सटर पट्टी, सटर गाइड, हट रोल्ड तथा कोल्ड रोल्ड स्टिललगायत उत्पादन गर्दै आएको छ भने यसको वार्षिक उत्पादन क्षमता ५० हजार १९८ मेट्रिक टन रहेको छ।


प्रकाशित : बुधबार, साउन २० २०८३११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend