बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारणलाइनबारे सुझाव माग

आइतबार, साउन १७ २०८३
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारणलाइनबारे सुझाव माग

प्रस्तावित प्रसारणलाइनको कुल लम्बाइ १३.१८ किलोमिटर रहनेछ। यसका लागि ३३ केभी प्रसारणलाइनमा २०९ वटा स्टिल ट्युबुलर पोल तथा १३२ केभी प्रसारणलाइनमा दुईवटा टावर निर्माण गरिनेछ।

काठमाडौं- सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारणलाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ।

विभागले आज एक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नं ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ८.४७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारणलाइन तथा त्यहाँबाट जुनबेँसी हब पुलिङ स्टेसनसम्म ४.७१ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण गरिने जनाएको छ।

प्रवर्द्धक कम्पनी गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले विद्युत् नियमावली, २०५० बमोजिम प्रसारणलाइन निर्माणको अनुमति माग गरेपछि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार गरिएको विभागले जनाएको छ। प्रतिवेदनअनुसार आयोजना निर्माण तथा सञ्चालनबाट उल्लेखनीय प्रतिकूल वातावरणीय असर पर्न सक्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले लिखित राय-सुझाव दिन सक्नेछन्। 

प्रस्तावित प्रसारणलाइनको कुल लम्बाइ १३.१८ किलोमिटर रहनेछ। यसका लागि ३३ केभी प्रसारणलाइनमा २०९ वटा स्टिल ट्युबुलर पोल तथा १३२ केभी प्रसारणलाइनमा दुईवटा टावर निर्माण गरिनेछ। आयोजनाका लागि स्थायी रूपमा करिब ०.५ हेक्टर र अस्थायी रूपमा करिब ०.५३ हेक्टर जग्गा आवश्यक पर्ने उल्लेख गरिएको छ। प्रसारणलाइनको अधिकार क्षेत्र (राइट अफ वे) अन्तर्गत करिब ९.६६ हेक्टर जग्गा पर्नेछ।

विभागका अनुसार ३३ केभी प्रसारणलाइनका लागि न्यूनतम ६.६२ मिटर र १३२ केभी प्रसारणलाइनका लागि १८ मिटर अधिकार क्षेत्र कायम गरिनेछ। प्रसारणलाइन निर्माण तथा सञ्चालनका क्रममा विद्युत् ऐन, २०४९ र प्रचलित वातावरणीय मापदण्डअनुसार भू-क्षय, बाढी तथा वायु प्रदूषणजस्ता प्रभाव न्यूनीकरण गर्दै आयोजना कार्यान्वयन गरिने छ। रासस


प्रकाशित : आइतबार, साउन १७ २०८३१४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend