काठमाडौं- राष्ट्र बैंकको निर्देशन पालना नगरेका ३ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन्।
कारबाहीमा परेका बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र प्रभु बैंक रहेका छन्। राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलाई पहिलो पटक सचेत गराइएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम चाल्ने कबुलियतनामा गराउँदै बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गराएको छ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ ले तोकेको व्यवस्था विपरीत अनुरोध प्राप्त भएपछि पनि समयमै बैंक खाता रोक्का नगरी नियामकीय निर्देशनको बेवास्ता गरेको पाइएको थियो। सोही आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम बैंकलाई पहिलो पटक सचेत गराइएको हो।
यस्तै, कृषि विकास बैंकले पनि ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित)’ अनुसार समयमै बैंक खाता रोक्का नगरेको भेटिएपछि राष्ट्र बैंकले पहिलो पटक सचेत गराएको छ। साथै, केन्द्रीय बैंकले भविष्यमा सम्बन्धित निकायबाट अनुरोध प्राप्त हुनासाथ खाता रोक्का तथा फुकुवाको प्रक्रिया तत्काल कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिएको छ।
प्रभु बैंकको हकमा भने समष्टिगत स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर प्रकृतिका कमजोरीहरू सुधार गर्न यसअघि पटक-पटक निर्देशन दिइए पनि आवश्यक सुधार नभएको राष्ट्र बैंकले जनाएको छ ।