बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

आइतबार, साउन १७ २०८३
बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

साथै, उपभोक्तालाई शंकास्पद वा नक्कली उत्पादन देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ।

काठमाडौं- बजारमा नक्कली उत्पादनहरूको बिक्रीवितरण भइरहेको खबर सार्वजनिक भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले तत्काल त्यस्ता उत्पादनको बिक्रीवितरण रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएकी छिन्।

मन्त्री यादवको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। हाल ती उत्पादनहरूको गुणस्तर र मौलिकता परीक्षणका लागि प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ।

मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले नक्कली उत्पादनको बिक्रीवितरणमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने स्पष्ट पार्दै बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन विभागलाई थप निर्देशन दिएकी छिन्। दोषी पाइए कानूनबमोजिम कडा कारबाही गर्न पनि उनले निर्देशन दिएकी छिन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोती सापकोटाले अहिले पनि बजारमा केही नक्कली उत्पादनहरूको बिक्रीवितरण भइरहेको जानकारी प्राप्त भइरहेकाले विभाग आफै नियमितरूपमा बजार अनुगमनमा सक्रिय रहेको बताएका छन्।

उनका अनुसार नियन्त्रणमा लिइएका उत्पादनहरूको प्रयोगशाला परीक्षण भइरहेको छ। परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइनेछ।

साथै, उपभोक्तालाई शंकास्पद वा नक्कली उत्पादन देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ।

मन्त्री यादवले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने तथा बजारमा नक्कली उत्पादन बिक्रीवितरण गर्ने जोकोहीलाई कानूनबमोजिम कारबाही गरिने स्पष्ट पार्दै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। 


प्रकाशित : आइतबार, साउन १७ २०८३१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend