काठमाडौं- सहास ऊर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा सुधार आएको छ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको ८९ करोड ५१ लाख रुपैयाँको तुलनामा ५१.८४ प्रतिशतले बढी हो।
सोलुखुम्बुमा अवस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट नियमित विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको कम्पनीको बिक्री आम्दानी २ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टा गरेपछिको कुल नाफा १ अर्ब ९९ करोड रुपैयाँ र प्रशासनिक खर्च कटाएपछिको सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ।
नाफा वृद्धिमा कम्पनीको वित्तीय खर्च (ब्याज दायित्व) मा आएको गिरावटले मुख्य भूमिका खेलेको छ। अघिल्लो वर्ष ८० करोड २१ लाख रुपैयाँ रहेको ब्याज दायित्व समीक्षा वर्षमा घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ।
वित्तीय आधार तथा सञ्चित कोषलाई थप बलियो बनाएको सहास ऊर्जाको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ छ भने जगेडा कोष ३ अर्ब १६ करोड २० लाख रुपैयाँबाट वृद्धि भई ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ।
यसैगरी, कम्पनीको मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ भने कुल सम्पत्ति १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ कायम भएको छ।
कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेडमार्फत ३४१ मेगावाट क्षमताको ‘बुढीगण्डकी क’ जलविद्युत आयोजना अघि बढाएको छ। उक्त आयोजना निर्माणका लागि कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित आवश्यक कार्यहरू तीव्रताका साथ अगाडि बढाएको छ।