बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

युक्रेनको ड्रोन आक्रमणले रुसको तेल प्रशोधन प्रणालीमा दबाब, एसियाबाट आायत गर्न थाल्यो पेट्रोलियम सुपरपावरले

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १७ २०८३
युक्रेनको ड्रोन आक्रमणले रुसको तेल प्रशोधन प्रणालीमा दबाब, एसियाबाट आायत गर्न थाल्यो पेट्रोलियम सुपरपावरले

प्रमुख रिफाइनरीमा लगातार आक्रमणपछि प्रशोधित इन्धनको उत्पादन र निर्यात प्रभावित, डिजेल तथा जेट इन्धनको विश्व आपूर्तिमा दबाब बढ्ने चिन्ता

काठमाडौं- युक्रेनले रुसका प्रमुख तेल प्रशोधन केन्द्रहरूमा ड्रोन आक्रमण तीव्र बनाएपछि विश्व ऊर्जा बजारमा नयाँ जोखिम देखिएको छ। पछिल्ला आक्रमणका कारण रुसको दैनिक करिब ६ लाख ब्यारेल तेल प्रशोधन क्षमता खस्किएको छ। यो घटनापछि रुसले आन्तरिक बजारमा आपूर्ति सुनिश्चित गर्न पेट्रोल, जेट इन्धन र डिजेलको निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। 

विश्वको तेस्रो ठूलो कच्चा तेल उत्पादक तथा दोस्रो ठूलो कच्चा तेल निर्यातक रुसले दैनिक करिब १ करोड ब्यारेल कच्चा तेल उत्पादन गर्छ जुन विश्व उत्पादनको करिब ११ प्रतिशत हो। कच्चा तेल निर्यातमा पनि रुसको हिस्सा १२ देखि १४ प्रतिशत रहेको छ। त्यसैले रुसको ऊर्जा क्षेत्रमा आउने कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।

रुससँग दैनिक ६७ देखि ६८ लाख ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता रहेको मानिन्छ। यस आधारमा चीन र अमेरिकापछि रुस विश्वको तेस्रो ठूलो तेल प्रशोधन गर्ने राष्ट्र हो। युक्रेनी आक्रमण र पश्चिमी प्रतिबन्धका कारण वास्तविक प्रशोधन दैनिक ५० देखि ५५ लाख ब्यारेलमा सीमित भएको छ। 

समुद्री मार्गबाट हुने विश्व डिजेल निर्यातमा रुसको हिस्सा १५ देखि २० प्रतिशतसम्म रहेको छ। युद्धअघि युरोपेली संघले आयात गर्ने डिजेलको करिब ४० प्रतिशत रुसबाट आउने गरेको थियो। फ्युल आयल र भ्याकुम ग्यास आयल निर्यातमा पनि रुसको हिस्सा उल्लेखनीय छ। त्यसैले रिफाइनरीमा आएको अवरोधले कच्चा तेलभन्दा बढी डिजेल, जेट इन्धन र अन्य प्रशोधित इन्धनको विश्व आपूर्तिमा असर पार्ने देखिएको छ।

हालको आक्रमणको मुख्य निशानामा ग्याजप्रोम नेफ्टको मस्को रिफाइनरी र टाटनेटको टानेको रिफाइनरी परेका छन्। मस्को रिफाइनरीले राजधानी मस्कोको करिब ४० प्रतिशत इन्धन आपूर्ति गर्दै आएको छ। मे २०२६ मा रुसका धेरै प्रमुख रिफाइनरीले उत्पादन रोक्न वा उल्लेखनीय रूपमा घटाउनुपरेको थियो। त्यसबेला रुसको कुल प्रशोधन क्षमताको करिब एक चौथाइ प्रभावित भएको बताइएको थियो। प्रभावित रिफाइनरीहरूले रुसको करिब ३० प्रतिशत पेट्रोल र २५ प्रतिशत डिजेल उत्पादन गर्दै आएका थिए।

युक्रेनले अहिले तेल उत्पादनभन्दा प्रशोधन पूर्वाधारलाई मुख्य लक्ष्य बनाएको छ। रुससँग पर्याप्त कच्चा तेल भए पनि त्यसलाई पेट्रोल, डिजेल र जेट इन्धनमा रूपान्तरण गर्ने रिफाइनरीमा क्षति पुगेपछि घरेलु बजारमै इन्धन आपूर्तिमा दबाब देखिन थालेको छ। यही कारण रुसले अप्रिलदेखि पेट्रोल, त्यसपछि जेट इन्धन र जुलाईदेखि डिजेल निर्यातमा समेत प्रतिबन्ध लगाएको हो।

यतिमात्र होइन रूसको राजधानीमै मूल्य बढेको छ भने आवश्यक आपूर्तिका व्यवस्थापनका लागि रुसले एसियाली देशबाट आयात गर्न थालेको छ। रुसकै कच्चा तेल ल्याएर भारत लगायतका देशले रुपमा निर्यात गर्न थालेका छन्। 

युक्रेनले जुलाई २०२६ सम्मका आक्रमणबाट रुसको करिब ४२.७ प्रतिशत तेल प्रशोधन क्षमता निष्क्रिय बनाएको दाबी गरेको छ। यो दाबी स्वतन्त्र रूपमा पुष्टि नभए पनि विभिन्न स्रोतहरूले रुसका धेरै रिफाइनरी र भण्डारण पूर्वाधारमा क्षति पुगेको पुष्टि गरेका छन्।

यसको प्रभाव उत्पादनमा पनि देखिन थालेको छ। जुन २०२६ मा रुसको दैनिक तेल प्रशोधन घटेर करिब ३.९५ मिलियन ब्यारेलमा झरेको थियो, जुन दुई दशकयताकै न्यून स्तर मानिएको छ। पेट्रोल उत्पादन पनि अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले घटेको छ। विश्लेषकहरूका अनुसार यदि यस्ता आक्रमण निरन्तर जारी रहे भने रुसको ऊर्जा निर्यात मात्र होइन, विश्वव्यापी इन्धन आपूर्ति, ढुवानी लागत र ऊर्जा मूल्यमा समेत थप दबाब पर्न सक्छ।


प्रकाशित : आइतबार, साउन १७ २०८३०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend