बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेपाली सेनाले सम्पन्न गर्‍यो ३२ सडक आयोजना, १ हजार ४११ किलोमिटर सडक निर्माण

आइतबार, साउन १७ २०८३
नेपाली सेनाले सम्पन्न गर्‍यो ३२ सडक आयोजना, १ हजार ४११ किलोमिटर सडक निर्माण

नेपाली सेनाले हालसम्म देशका दुर्गम तथा सामरिक महत्वका क्षेत्रमा ३२ वटा सडक आयोजना सम्पन्न गर्दै कुल एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ।

काठमाडौं- नेपाली सेनाले हालसम्म देशका दुर्गम तथा सामरिक महत्वका क्षेत्रमा ३२ वटा सडक आयोजना सम्पन्न गर्दै कुल एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ। कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भीर तथा निर्माण गर्न चुनौतीपूर्ण मानिएका सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्दै सेनाले राष्ट्रिय सडक सञ्जाल विस्तारमा उल्लेखनीय योगदान दिएको जनाएको हो।

सेनाका अनुसार कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा सडक, बेँसीसहर–चामे सडक, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायत ३२ सडक आयोजना सम्पन्न भइसकेका छन्। सरकारले दुर्गम र रणनीतिक महत्वका क्षेत्रलाई सडक पहुँचमा जोड्ने उद्देश्यले यस्ता आयोजना नेपाली सेनामार्फत निर्माण गराउँदै आएको छ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा अत्यन्त जटिल भू–बनोटका बाबजुद सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्दै वार्षिक लक्ष्य शतप्रतिशत पूरा गरिरहेको बताउनुभयो।

पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत सेनाले १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरिसकेको छ। उक्त सडकले किमाथाङ्का क्षेत्रको विकास र चीनसँगको व्यापारिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

हाल नेपाली सेनाले कर्णाली करिडोर, दार्चुला–टिङ्कर तथा बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ गरी तीन प्रमुख सडक आयोजना निर्माण गरिरहेको छ।

महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर) सडक आयोजनामा ७९ किलोमिटर सडक निर्माणको जिम्मेवारी सेनाले लिएको छ। अत्यन्त कठिन हिमाली भूभाग र प्रतिकूल मौसमका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा मात्रै १९.८० किलोमिटर सडक निर्माण गरी वार्षिक लक्ष्य पूरा गरिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत पुगेको छ।

बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटरमध्ये हावाडाँडा–दोभान १८ किलोमिटर सडक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ। आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको ४०.८ किलोमिटर अर्थात् ४४.३५ प्रतिशत भौतिक प्रगति हासिल भएको सेनाले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोर निर्माणमा पनि सेनाले तीव्रता दिएको छ। हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको ६८२ किलोमिटर लामो करिडोरअन्तर्गत लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला गरी २२.०५ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले सम्हालिरहेको छ।

लालीबगर–दुल्लिकुन्ना खण्डको ट्र्याक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ भने घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा निर्माण जारी रहेको छ। आर्थिक वर्ष २०८२/८३ सम्म १९ किलोमिटर सडक निर्माण सम्पन्न भई समग्र आयोजनाको भौतिक प्रगति ८६.१७ प्रतिशत पुगेको छ।

सेनाले हिल्सा–सिमकोट सडकखण्डअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा गत असार २२ गते बेलिब्रिज जडान गरी हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कार्यलाई थप सहज बनाएको जनाएको छ। यसले कर्णालीको आर्थिक, सामाजिक तथा सामरिक महत्व अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारीअनुसार दुर्गम तथा रणनीतिक महत्वका क्षेत्रमा नयाँ ट्र्याक खोल्ने, सडक स्तरोन्नति गर्ने, आवश्यक पूर्वाधार निर्माण गर्ने तथा सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने कार्य मापदण्डअनुसार सञ्चालन गर्दै आएको जनाएको छ।

सेनाका अनुसार यस्ता सडक आयोजनाले दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै व्यापार, पर्यटन, विपद् व्यवस्थापन, स्थानीय आर्थिक गतिविधि तथा राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने आधार तयार गरेका छन्। साथै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै कठिन भूभागमा समेत विकास निर्माणका जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गरिरहेको सेनाको दाबी छ।


प्रकाशित : आइतबार, साउन १७ २०८३०७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend