काठमाडौं- वायुसेवा सञ्चालक संघ, नेपालले पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित विभिन्न देशका पर्वतारोहीहरूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
संघका अध्यक्ष प्रताप जंग पाण्डेद्वारा जारी शोक वक्तव्यमा मिति २०८३ साउन १५ गते ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी निम्स दाईसहित पाँच नेपाली तथा अमेरिका, ओमान, चीन, पाकिस्तान र बेलायतका पर्वतारोहणमा सहभागी आरोहीहरूको असामयिक निधनले सम्पूर्ण पर्वतारोहण तथा पर्यटन क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ। संघले दिवंगत सबै आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेको छ।
वक्तव्यमा मुस्ताङ हेलिकप्टर प्रालिका अध्यक्षसमेत रहेका निर्मल पुर्जा नेपालको पर्वतारोहण इतिहासका अद्वितीय व्यक्तित्व रहेको उल्लेख गरिएको छ। म्याग्दी जिल्लाको दानामा जन्मिएका पुर्जाले बाल्यकालदेखि नै अनुशासन, कठोर मेहनत र अदम्य साहसका बलमा विश्व पर्वतारोहणमा नेपालको पहिचानलाई नयाँ उचाइमा पुर्याएको संघको भनाइ छ।
संघले निम्स दाईले केवल ६ महिना ६ दिनमै विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेको स्मरण गरेको छ। उक्त उपलब्धिले विश्व पर्वतारोहणका स्थापित मान्यतालाई चुनौती दिँदै नेपाली पर्वतारोहणको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको संघले जनाएको छ।
वक्तव्यमा बेलायती सेनामा रहँदा उनले पुर्याएको असाधारण योगदानका लागि सन् २०१८ मा तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयाबाट ‘एमबीई’ सम्मान प्राप्त गरेको तथा बेलायतको इस्टलेइ बरो काउन्सिलबाट ‘अनरेरी फ्रिडम अफ द बरो’ जस्तो सर्वोच्च नागरिक सम्मानबाट समेत सम्मानित भएको उल्लेख गरिएको छ।
संघले निम्स दाईको निधनलाई नेपालको पर्यटन, पर्वतारोहण तथा साहसिक खेलकुद क्षेत्रका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै उनले विश्वभर नेपालको प्रतिष्ठा उचो बनाएको योगदान सधैं स्मरणीय रहने जनाएको छ।
वायुसेवा सञ्चालक संघले यस दुःखद घडीमा शोकसन्तप्त परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।