काठमाडौं- विश्वले नेपाललाई लामो समयसम्म केवल 'सगरमाथाको देश'का रूपमा चिन्यो। विश्वका सर्वोच्च हिमालहरू नेपालको भूमिमा थिए, तर ती हिमालमाथि लेखिने सफलताका कथाहरूमा प्रायः विदेशी आरोहीहरू मात्र मुख्य पात्र हुन्थे। नेपाली शेर्पा र उच्च हिमाली गाइडहरू उनीहरूको सफलताका मौन अनि गौण सहयात्री थिए।
उनीहरू जोखिम मोलेर बाटो बनाउँथे, डोरी फिक्स गर्थे, भारी बोक्थे, उद्धार गर्थे र विदेशी आरोहीलाई शिखरसम्म पुर्याउँथे। तर विश्वले उनीहरूलाई प्रायः सहयोगीका रूपमा मात्र हेर्थ्यो। यही स्थापित धारणालाई एक नेपालीले बदलिदिए। ती व्यक्ति थिए निर्मल पुर्जा, जसलाई संसारले ‘निम्स दाइ’ भनेर चिन्यो।
'निम्स दाइ'को परिचय केवल एक सफल पर्वतारोहीको थिएन। उनी आधुनिक विश्व पर्वतारोहणको सोच बदल्ने व्यक्तित्व थिए। उनले नेपाललाई हिमाल भएको देशका रूपमा मात्र होइन, विश्वकै उत्कृष्ट पर्वतारोही जन्माउने राष्ट्रका रूपमा स्थापित गराए। उनले बनाएका कीर्तिमानले नेपाली पर्वतारोहणको इतिहासमा मात्र होइन, विश्व पर्वतारोहणको इतिहासमै नयाँ अध्याय थप्यो।
म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पुर्जा सैनिक परिवारमा हुर्किएका थिए। उनका पिता र दाजुहरू गोर्खा सैनिक थिए। बाल्यकालदेखि नै अनुशासन, साहस र देशप्रतिको समर्पण सिकेका उनले पछि बेलायती गोर्खा सेनामा प्रवेश गरे। त्यसपछि उनी बेलायतको प्रतिष्ठित स्पेसल बोट सर्भिस (एसबीएस) मा छनोट हुने पहिलो नेपाली बने। विश्वकै सबैभन्दा कठिन विशेष सैनिक तालिम पार गरेका उनले करिब १६ वर्ष सैनिक जीवन बिताए। त्यही सैनिक जीवनले उनलाई शारीरिक रूपमा बलियो मात्र बनाएन, मानसिकरूपमा पनि असाधारण दृढ बनायो। पछि यही क्षमता हिमालमा उनको सबैभन्दा ठूलो शक्ति बन्यो।
सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको सामान्य पदयात्राका क्रममा उनको जीवनले नयाँ मोड लियो। हिमालसँगको त्यो पहिलो निकटताले उनीभित्र नयाँ सपना जन्मायो। त्यसपछि उनले पर्वतारोहणलाई केवल साहसिक खेलका रूपमा होइन, नेपालीहरूको क्षमता संसारलाई देखाउने अभियानका रूपमा लिए। उनले छोटो समयमै विश्वका अग्ला हिमालहरूमा लगातार सफलता हासिल गर्न थाले र आफूलाई आधुनिक पर्वतारोहणका सबैभन्दा प्रभावशाली आरोहीमध्ये एकका रूपमा स्थापित गरे।
सन् २०१९ मा उनले ‘प्रोजेक्ट पसिबल’ नामक अभियान घोषणा गरे। लक्ष्य थियो विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सात महिनाभित्र आरोहण गर्ने। संसारभरका धेरै पर्वतारोहण विज्ञहरूले यो अभियानलाई असम्भव भने। कतिपयले सार्वजनिक रूपमा उनको आलोचना गरे, कतिपयले असफल हुने भविष्यवाणी गरे। तर निम्स दाइको आत्मविश्वास फरक थियो। उनले विश्वास गर्थे कि दृढ इच्छाशक्ति, अनुशासन र सही तयारी भए असम्भव भन्ने शब्दको कुनै अर्थ रहँदैन।
अन्ततः उनले सबैलाई गलत सावित गरिदिए। विश्वका सबै १४ आठ हजार मिटर भन्दामाथीका हिमाल उनले केवल ६ महिना ६ दिनमा आरोहण गरेर झण्डै आठ वर्षदेखि कायम विश्व कीर्तिमान तोडे। यो केवल एउटा नयाँ रेकर्ड थिएन, यो आधुनिक पर्वतारोहण इतिहासकै सबैभन्दा ठूलो उपलब्धिमध्ये एक थियो। यस सफलताले विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनायो र नेपाली पर्वतारोहीप्रतिको दृष्टिकोण नै परिवर्तन गरिदियो।
निम्स दाइले केवल गति देखाएनन्, उनले क्षमता पनि प्रमाणित गरे। उनले सगरमाथा, ल्होत्से र मकालु लगातार ४८ घण्टाभित्र आरोहण गरेर अर्को विश्व कीर्तिमान बनाए। कृत्रिम अक्सिजनबिनै सबै १४ वटै ८ हजार मिटर भन्दामाथिका हिमाल सबैभन्दा छिटो आरोहण गर्ने उपलब्धिसमेत आफ्नो नाममा लेखाए। अक्सिजनसहित र अक्सिजनबिनै दुवै शैलीमा सबै १४ वटै ८ हजार मिटरमान्दा माथिका हिमाल सफलतापूर्वक आरोहण गर्ने विश्वका अत्यन्तै सीमित पर्वतारोहीमध्ये उनी एक बने।
तर निम्स दाइको महानता केवल कीर्तिमानमा सीमित थिएन। हिमालमा संकटमा परेका पर्वतारोहीको उद्धारका लागि उनले पटक-पटक आफ्नै लक्ष्य त्यागे। अन्नपूर्ण र कञ्चनजंघा आरोहणका क्रममा अरूको ज्यान बचाउन आफ्नै अभियान रोकेका घटनाले उनी कति मानवीय थिए भन्ने देखाउँछ। आठ हजार मिटरभन्दा माथिको ‘डेथ जोन’मा पनि उनले आफ्नो अक्सिजन अरूलाई दिए, उद्धार अभियान चलाए र जीवन बचाउन हरसम्भव प्रयास गरे। उनका लागि हिमाल जित्नुभन्दा ठूलो कुरा मानिसको जीवन थियो।
उनले खिचेको सगरमाथा शिखर नजिकको लामो आरोही लाइनको तस्बिर पनि विश्वभर चर्चित बन्यो। त्यसले नेपालमा पर्वतारोहण व्यवस्थापन, भीड नियन्त्रण र सुरक्षा मापदण्डबारे अन्तर्राष्ट्रिय बहस सुरु गरायो। त्यसरी उनले केवल कीर्तिमान मात्र बनाएनन्, हिमाली पर्यटनका चुनौतीलाई पनि विश्वसामु उजागर गरे।
सन् २०२१ मा नेटफ्लिक्सले निर्माण गरेको ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ वृत्तचित्र सार्वजनिक भएपछि निम्स दाइ विश्वभर चिनिए। त्यो वृत्तचित्र केवल उनको व्यक्तिगत यात्राको कथा थिएन। त्यसले नेपालका हिमाल, नेपाली शेर्पा, नेपाली पर्वतारोहण संस्कृति र हिमाली पर्यटनलाई विश्वका करोडौँ दर्शकमाझ पुर्यायो। धेरै विदेशीका लागि नेपाललाई नयाँ दृष्टिकोणबाट चिनाउने माध्यम नै निम्स दाइ बने।
निम्स दाइले पर्वतारोहणलाई व्यक्तिगत प्रसिद्धिको माध्यम बनाएनन्। उनले नेपाली शेर्पा समुदायको सम्मान बढाउन, उच्च हिमाली श्रमिकको पहिचान स्थापित गर्न र नेपाली पर्वतारोहण उद्योगलाई विश्वस्तरीय बनाउने अभियान निरन्तर चलाए। उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली पर्वतारोहीको योगदानबारे खुलेर बोलिरहे। उनले संसारलाई सम्झाइरहे कि हिमालको इतिहास नेपालीबिनाको इतिहास हुनै सक्दैन।
तर नियतिले उनलाई अन्तिम पटक पनि हिमालमै बोलायो। विश्व पर्वतारोहणमा नयाँ इतिहास रच्ने अभियानलाई निरन्तरता दिइरहेका निम्स दाइ सन् २०२६ जुलाई ३० मा पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परे। उनी नेतृत्वको अन्तर्राष्ट्रिय आरोहण टोलीमा कुल १० जना सदस्य थिए, जसमा ६ जना नेपाली पर्वतारोही पनि सहभागी थिए। हिमपहिरोपछि टोलीसँग सम्पर्क पूर्णरूपमा टुट्यो र उद्धार तथा खोजी अभियान तत्काल सुरु गरिए पनि अत्यन्त प्रतिकूल मौसम र जोखिमपूर्ण भूगोलका कारण प्रयासहरू कठिन बने।
केही दिनसम्म जीवित भेटिने आशा कायम रहे पनि सन् २०२६ अगस्ट १ (आज) शनिबार निम्स दाइको कम्पनी इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको औपचारिक पुष्टि गरेको छ। कम्पनीले हिमपहिरोमा परेका अन्य केही सदस्य पनि जीवित नरहेको जानकारी दिएको थियो। त्यसअघि खोजी अभियानका क्रममा टोलीका चार सदस्यको शव फेला परेको समाचार सार्वजनिक भइसकेको थियो।