काठमाडौं- नेपाल एयरलाइन्सले गत वर्ष उडान सञ्चालनबाट १७ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ। पछिल्ला केही वर्षदेखि ऋणात्मक भइरहेको आम्दानी गएको वर्ष १२ प्रतिशतले बढेर सुधार देखिएको छ। यही सुधारको कथाभित्र गन्तव्यविशेष आम्दानीको गणित भने फेरिएको छ।
तथ्यांकअनुसार नेपाल एयरलाइन्सको आकर्षक र लाभदायक गन्तव्यको रुपमा कतार र जापान उदाएका छन्। दुई अन्तर्राष्ट्रिय गन्तव्यमा अत्यधिक निर्भर देखिएको छ।
गत आर्थिक वर्ष २०८२/०८३ मा निगमले उडानबाट कमाएको कुल १७ अर्ब ५२ करोड ७९ लाख रुपैयाँमध्ये ८ अर्ब ६ करोड रुपैयाँ, अर्थात् करिब ४६ प्रतिशत, जापान र कतार उडानबाट आएको छ।
काठमाडौं-नारिता-काठमाडौं रुट एक्लैले ५ अर्ब ६३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ। अर्थात् उडानबाट निगमले कमाएको करिब प्रत्येक तीन रुपैयाँमध्ये एक रुपैयाँ जापान रुटबाट आएको देखिन्छ।
नेपाल एयरलाइन्सका वाइडबडी विमान जापान र कतार रुटमा सञ्चालन हुँदै आएका छन्। लामो गन्तव्यका लागि उपयुक्त हुने यी जहाजको उडानको किफायति जापानबाट सबैभन्दा धेरै आएको छ। सबैभन्दा धेरै आम्दानी दिने बजार पनि नारिता बनेको छ।
लामो दूरीका उडानले सामान्यतया धेरै यात्रु र बढी आम्दानी दिने भएकाले वाइडबडी सञ्चालनले निगमको आम्दानी बढाउन सहयोग गरेको हो।
आम्दानीको ठूलो हिस्सा सीमित गन्तव्यमा भर पर्दा कुनै कारणले यीमध्ये एउटा रुट प्रभावित भए त्यसको असर समग्र आम्दानीमा पर्ने जोखिम भने सँधै रहन्छ।
निगमको उडान आम्दानी केही वर्षदेखि स्थिर वा घट्दो अवस्थामा थियो। आर्थिक वर्ष २०८०/०८१ मा १५ अर्ब ४३ करोड रुपैयाँ रहेको आम्दानी २०८१/०८२ मा घटेर १५ अर्ब ३१ करोड रुपैयाँमा पुगेको थियो।
गत आर्थिक वर्ष भने उडान आम्दानी १२.६ प्रतिशतले बढेर १७ अर्ब ५२ करोड ७९ लाख रुपैयाँ पुगेको छ। एक वर्षमै करिब २ अर्ब २१ करोड रुपैयाँ थपिएको हो।