काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको नयाँ विद्युतीय एसयूभी पन्च ईभीले भारत एनसीएपीमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ। यही विद्युतीय एसयूभी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाल ल्याइपुर्याएको छ।
क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको नयाँ टाटा पन्च ईभी साउन २६ देखि हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा औपचारिकरुपमा सार्वजनिक हुनेछ। ठूलो ब्याट्री र परिमार्जित विशेषतासहित भारतीय बजारमा सार्वजनिक भएको नयाँ पन्च ईभी नेपाल आएपुगेको हो।
टाटा मोटर्सले आफ्नो विद्युतीय कारको सूचीमा अर्को ठूलो सफलता थप्दै टाटा पन्च ईभीमार्फत भारत एनसीएपीको क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ हासिल गरेको हो। मे २०२६ मा गरिएको यो सुरक्षा परीक्षणमा गाडीले वयस्क र बालबालिका दुवैको सुरक्षाका हिसाबले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्टार रेटिङ पाएको हो।
परीक्षणका क्रममा पन्च ईभीले वयस्क सुरक्षातर्फ कुल ३२ अंकमा ३१.०९ अंक प्राप्त गरेको छ भने बाल सुरक्षातर्फ ४९ अंकमा ४५ अंक जोड्न सफल भएको छ। अगाडिबाट हुने ठक्करमा यसले १६ मा १५.२८ अंक र छेउबाट हुने ठक्करमा १६ मा १५.८० अंक प्राप्त गरेको छ। साथै साइड पोल इम्प्याक्ट टेस्टमा पनि यसको नतिजा सन्तोषजनक रहेको छ, जसले दुर्घटनाका विभिन्न अवस्थामा गाडीको बलियो संरचनालाई प्रमाणित गरेको छ।
भारत एनसीएपीका अनुसार यो ५ स्टार रेटिङ पन्च ईभीका छ वटै भेरियन्टहरूमा लागु हुनेछ। परीक्षणका लागि १ हजार ६ सय १३ किलोग्राम तौल भएका एडीभी ४० र ईएमपी प्लस एस ४० भेरियन्टहरू प्रयोग गरिएको थियो।
सुरक्षाका दृष्टिले टाटाले यस गाडीका सबै भेरियन्टमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, पैदल यात्री सुरक्षा प्रविधि, आईएसओफिक्स चाइल्ड सीट माउन्ट र चालकसहित सबै यात्रुहरूका लागि सीट-बेल्ट रिमाइन्डरजस्ता विशेषताहरु स्ट्यान्डर्डका रूपमा उपलब्ध गराएको छ। गाडीमा अगाडिका यात्रुहरूका लागि फ्रन्ट र साइड एयरब्यागका साथै सबै लहरका लागि कर्टेन एयरब्यागहरू पनि दिइएको छ।

बालबालिकाको सुरक्षा परीक्षणका क्रममा १८ महिना र ३ वर्षका बालबालिकाको डमी राखेर गरिएको अगाडि र छेउको ठक्कर परीक्षणमा गाडीले पूर्ण अंक ल्याएको थियो। यस नतिजासँगै टाटा पन्च ईभी भारतीय बजारमा उपलब्ध सबैभन्दा सुरक्षित इलेक्ट्रिक गाडीहरू मध्ये एक बनेको छ। यही नयाँ पन्च ईभी नेपाली उपभोक्ताले १० दिनपछिबाट किन्न पाउने छन्।
नयाँ पन्च ईभी ४० किलोवाट आवरको ब्याट्री प्याकमा आउने छ। यसअघि पन्च ३५ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध थियो। यो नयाँ ब्याट्रीलाई फ्रन्ट-माउन्टेड सिंगल इलेक्ट्रिक मोटरसँग जोडिएको छ। ४० किलोवाट आवरको ब्याट्रीयुक्त पन्चले १ सय २९ एचपी पावर र १ सय ५४ एनएम टर्क उत्पन्न गर्छ।
नयाँ पन्चको एआरआएई प्रमाणित रेन्ज ४ सय ६८ किलोमिटर भएपनि टाटाका अनुसार यसको वास्तविक (सी७५) रेन्ज ३ सय ५० किलोमिटर रहेको छ। यो रेन्जयुक्त पन्च ईभी दैनिक प्रयोगका साथै लामो यात्राका लागि अझ व्यावहारिक बनाउने कम्पनीको भनाइ छ।
नयाँ पन्च ईभीले ९ सेकेन्डभन्दा कम समयमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति तय गर्नसक्छ। यो विद्युतीय एसयूभीमा ३२ प्रतिशतको 'रिस्टार्ट ग्रेडबिलिटी' रहेकाले यसले ठाडो उकालाहरू सहजै पार गर्न सक्ने क्षमता रहेको छ।
यसमा सिटी, इको र स्पोर्ट्स गरी तीन वटा ड्राइभ मोडहरूका साथै चार स्तरको 'रिजेनेरेटिभ ब्रेकिङ' उपलब्ध छ, जसलाई स्टेरिङमा रहेको प्याडल सिफ्टरमार्फत नै मिलाउन सकिन्छ। नयाँ पन्चको चार्जिङ क्षमतामा पनि सुधार गरिएको छ। ६५ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा नयाँ पन्च ईभीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज २६ मिनेटमै गर्न सकिने कम्पनीले जनाएको छ।
टाटाका अनुसार १५ मिनेट चार्ज गर्दा १ सय ३५ किमीसम्मको रेन्ज थप्न सकिन्छ। नयाँ ब्याट्री र पावरट्रेन प्रणालीमा पार्टपुर्जाहरूको सङ्ख्या घटाइएको, वायरिङ सरल बनाइएको र उत्कृष्ट थर्मल म्यानेजमेन्ट गरिएकाले यसको समग्र दक्षतामा वृद्धि भएको टाटा मोटर्सले जनाएको छ।
नयाँ पन्च ईभीमा नयाँ आईसीई पन्चबाट प्रेरित सफा र आधुनिक डिजाइन रहेको छ। जसमा पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर, बन्द ग्रिल, नयाँ १६-इन्चको अलोय ह्वील, नयाँ रङका विकल्पहरू र कनेक्टेड एलईडी टेल ल्याम्पहरू उपलब्ध छन्।
पन्च ईभीमा १ सय ९५ एमएमको ग्राउन्ड क्लियरेन्स र ४ सय ५० एमएमको वाटर-वेडिङ (पानीमा हिँड्न सक्ने) क्षमता रहेको छ। भित्री क्याबिनमा नयाँ ट्रिमहरू थपिएका छन् भने माथिल्लो भेरियन्टहरूमा १०.२५-इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५-इन्चकै डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ।