बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

साना किसान विकास लघुवित्तको नाफा ६५ करोड ३१ लाख रुपैयाँ, लाभांश क्षमता बलियो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १५ २०८३
साना किसान विकास लघुवित्तको नाफा ६५ करोड ३१ लाख रुपैयाँ, लाभांश क्षमता बलियो

सार्वजनिक विवरण अनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खुद नाफामा केही संकुचन आए तापनि संस्थाको कुल सम्पत्ति, लाभांश क्षमता र निष्क्रिय कर्जा नियन्त्रणको स्थिति भने काफी बलियो देखिएको छ।

काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खुद नाफामा केही संकुचन आए तापनि संस्थाको कुल सम्पत्ति, लाभांश क्षमता र निष्क्रिय कर्जा नियन्त्रणको स्थिति भने काफी बलियो देखिएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको नाफा ८७ करोड ५० लाख रुपैयाँको तुलनामा २५.३६ प्रतिशतले कम हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा पनि १ अर्ब २७ करोड रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँ कायम भएको छ।

खुद नाफामा गिरावट आए तापनि सञ्चित नाफा र नियमनकारी समायोजनका कारण लघुवित्तको सेयरधनीहरूलाई लाभांश बाँड्ने क्षमता भने उच्च रहेको छ।

असार मसान्तसम्म नियमनकारी समायोजनपश्चात् लघुवित्तको कुल वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ पुगेको छ। यस अनुसार चुक्ता पुँजीका आधारमा प्रतिसेयर वितरणयोग्य नाफा ३३ रुपैयाँ ४६ पैसा कायम हुन आएको छ। जसले लगानीकर्ताहरूलाई आगामी दिनमा पनि आकर्षक लाभांश दिन सक्ने बलियो आधार खडा गरेको छ।

अघिल्लो वर्षको असार मसान्तको तुलनामा संस्थाको चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँबाट बढेर ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी साना किसान तथा अन्य सहकारीहरूलाई प्रवाह गरिएको खुद कर्जा ३४ अर्ब ३० करोड रुपैयाँबाट विस्तार भई ३५ अर्ब ३९ करोड २९ लाख रुपैयाँ पुगेको छ। यससँगै लघुवित्तको कुल सम्पत्तिसमेत ४१ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि भएर ४१ अर्ब ९९ करोड २४ लाख रुपैयाँ पुगेको छ।

sana kisan laghubitta.PNG


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend