बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

७२ अर्ब रुपैयाँको लगानीमा नयाँ पाँच केबलकार परियोजना, मुक्तिनाथदेखि रानीमहलसम्म पूर्वाधार विस्तार हुने

शुक्रबार, साउन १५ २०८३
७२ अर्ब रुपैयाँको लगानीमा नयाँ पाँच केबलकार परियोजना, मुक्तिनाथदेखि रानीमहलसम्म पूर्वाधार विस्तार हुने

पाँचवटै आयोजना सञ्चालनमा आउँदा वार्षिक करिब ५८ लाख यात्रुले सेवा पाउने र ४ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्राप्त हुने देखिन्छ।

काठमाडौं- मुलुकका विभिन्न पर्यटकीय गन्तव्यमा पहुँच विस्तार गर्ने उद्देश्यले उद्योग विभागमा ७२ अर्ब ७ करोड रुपैयाँको लगानीमा पाँचवटा नयाँ केबलकार परियोजना दर्ता भएका छन्। पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोक, कास्की र पर्वतलाई समेट्ने यी परियोजनाले नेपालको पर्यटन तथा यातायात पूर्वाधारमा ठूलो लगानी भित्र्याएका हुन्।

दर्ता भएका परियोजनामध्ये पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ मा निर्माण हुने 'मुक्तिनाथ दर्शन लिमिटेड' सबैभन्दा ठूलो लगानीको आयोजना हो। यसमा ५६ अर्ब ६४ करोड ३७ लाख ८ हजार रुपैयाँ लगानी हुने विभागको तथ्यांक छ। यस केबलकारले वार्षिक १८ लाख १५ हजार यात्रुलाई सेवा दिने र ८२ जनालाई रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको छ।

यसैगरी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ७ मा 'सूर्यकुण्ड गोसाईकुण्ड केबलकार' दर्ता भएको छ। १० अर्ब १० करोड ८४ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको यस आयोजनाले वार्षिक ४ लाख यात्रुलाई सेवा दिने र ११० जनालाई रोजगारी दिने छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ मा २ अर्ब २० करोड रुपैयाँको लगानीमा 'फिष्टेल केबल कार एण्ड एडभेन्चर' निर्माण हुने भएको छ। यसले वार्षिक १४ लाख ४० हजार पर्यटकलाई सेवा दिने क्षमता राख्दछ।

ऐतिहासिक पर्यटकीय स्थल रानीमहललाई जोड्ने गरी 'रानीमहल आल्मदेवी केबलकार' दर्ता भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ बाट पाल्पाको रानीमहलसम्म विस्तार हुने यस केबलकारको कुल लागत १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ छ। वार्षिक १६ लाख ५० हजार यात्रु बोक्ने क्षमताको यस आयोजनाबाट ६० जनाले रोजगारी पाउने छन्।

यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा १ अर्ब ३० करोड रुपैयाँको लगानीमा 'सुपा देउराली केबलकार' निर्माण हुने भएको छ। यस केबलकारले वार्षिक पाँच लाख यात्रुलाई सेवा प्रदान गर्ने र ८० जनाका लागि प्रत्यक्ष रोजगारी सिर्जना गर्ने प्रस्ताव गरेको छ।

यी पाँचवटै आयोजना सञ्चालनमा आउँदा वार्षिक करिब ५८ लाख यात्रुले सेवा पाउने र ४ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्राप्त हुने देखिन्छ। पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको यो ठूलो लगानीले मुलुकको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

गोसाइँकुण्ड र सुपा देउरालीमा पनि केबलकार बन्ने, ११ अर्ब ३१ करोड रुपैयाँ लगानी हुँदै गोसाइँकुण्ड र सुपा देउरालीमा पनि केबलकार बन्ने, ११ अर्ब ३१ करोड रुपैयाँ लगानी हुँदै


प्रकाशित : शुक्रबार, साउन १५ २०८३१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend