काठमाडौं- सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार बैंकको खुद नाफा र निष्क्रिय कर्जा कटौतीमा सुधार भएको छ। समीक्षा अवधिमा बैंकले १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको ८ करोड ८ लाख २० हजार रुपैयाँको तुलनामा ८६.१८ प्रतिशतले बढी हो।
यस्तै, प्रोभिजनिङ र अन्य व्यवस्थापनपछि बैंकको सञ्चालन नाफा पनि १३२.०५ प्रतिशतले बढेर २४ करोड ७९ लाख ६५ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी भने २७ करोड ७८ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ।बैंकको खुद ब्याज आम्दानी २३ करोड ३४ लाख २५ हजार रुपैयाँ रहेको छ। खुद शुल्क तथा कमिसन आम्दानी ४ करोड २३ लाख ७५ हजार रुपैयाँ रहेको छ।
व्यावसायिक विस्तारतर्फ बैंकको निक्षेप संकलन ६६.४८ प्रतिशतको उच्च वृद्धि सहित ८ अर्ब ८८ करोड ५२ लाख ३१ हजार रुपैयाँ पुगेको छ। कर्जा प्रवाह १०.४१ प्रतिशतले बढेर ५ अर्ब ५६ करोड २५ लाख ९५ हजार रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँमा स्थिर छ भने जगेडा कोष २९.७४ प्रतिशतले बढेर ४४ करोड ८० लाख १० हजार रुपैयाँ पुगेको छ।
नाफामा राम्रो सुधार भए तापनि विगतको सञ्चित घाटा ५५ करोड ८८ लाख ५३ हजार रुपैयाँ कायमै रहेकाले बैंक अझै लाभांश बाँड्ने अवस्थामा पुगिसकेको छैन, यद्यपि ऋणात्मक सञ्चित कोषमा भने सुधार आएको छ।
मुख्य वित्तीय सूचकहरूमा बैंकले खराब कर्जा व्यवस्थापनमा उत्कृष्ट नतिजा निकाल्दै निष्क्रिय कर्जालाई १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशतमा झारेको छ।
बैंकको प्रतिसेयर आम्दानी १८.०४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ८६.७१ रुपैयाँ र पीई रेसियो ४०.४८ गुणा कायम भएको छ। पुँजी कोष अनुपात बढेर ११.२९ प्रतिशत पुगेकाले राष्ट्र बैंकको न्यूनतम सीमा पूरा भई वित्तीय सुरक्षा सुदृढ बनेको छ।
यसका साथै, सीडी रेसियो घटेर ६७.६३ प्रतिशतमा आउनुले बैंकसँग थप कर्जा विस्तारका लागि पर्याप्त तरलता रहेको देखाउँछ। समीक्षा अवधिमा बैंकको बेस रेट घटेर ५.८५ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर ४.२० प्रतिशत कायम भएको छ।