काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सम्झौता भएको छ।
सम्झौताअनुसार मृतकद्वयलाई शहीद घोषणा गर्न प्रक्रिया तत्काल अघि बढाउनुका साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १० लाख रूपैयाँ राहत उपलब्ध गराउने सहमति भएको छ।
मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेको सम्झौतामा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानूनबमोजिम तत्काल कारबाही अघि बढाउने उल्लेख छ।
साथै, दुवै मृतकका परिवारका योग्य एक-एक जना सदस्यलाई रोजगारीको व्यवस्था गरिने सम्झौतापत्रमा उल्लेख छ।
सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास पीडित परिवारले व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लिखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ। मृतकको आजै अन्त्येष्टि गरिनेछ।