बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एउटा घटनाको नाममा कुनै समुदायलाई दोष नदिन प्रधानमन्त्रीको अपिल, निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १४ २०८३
एउटा घटनाको नाममा कुनै समुदायलाई दोष नदिन प्रधानमन्त्रीको अपिल, निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता

उनले घटनाको निष्पक्ष छानबिन भइरहेको र संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे। गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै उनले छानबिन पारदर्शी र निष्पक्ष हुने विश्वास दिलाए।

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनापछि कुनै एक घटनालाई आधार बनाएर सिंगो समुदायलाई दोष नदिन र प्रतिशोधको भावना फैलाउन नहुने बताएका छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले देशको कुनै एक स्थानमा भएको दुःखद् घटनाको बहानामा अन्य स्थानमा सामाजिक सद्भाव खलबल्याउने वा समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य नहुने बताए।

उनले घटनाको निष्पक्ष छानबिन भइरहेको र संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याइने स्पष्ट पारे। गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै उनले छानबिन पारदर्शी र निष्पक्ष हुने विश्वास दिलाए।

प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने बताएका छन्। घटनालगत्तै सुरक्षा निकाय परिचालन गरिएको र प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चालिएको उनको भनाइ छ।

उनका अनुसार परिस्थितिलाई सामान्य बनाउन केन्द्रमा सर्वदलीय बैठक बसेको छ भने स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको छ। गृह मन्त्री प्रभावित क्षेत्रमा पुगिसक्नुभएको छ भने राष्ट्रिय सुरक्षा परिषद्ले पनि परिस्थितिको समीक्षा गर्दै आवश्यक निर्णय गरेको छ’ उनले भनेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा अफवाह, घृणा फैलाउने सामग्री वा अपुष्ट सूचना प्रसारण नगर्न आग्रह गर्दै सरकारी निकायबाट जारी आधिकारिक सूचना मात्रै विश्वास गर्न सबैसँग अपिल गरेका छन्।

संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले धर्मले विभाजन होइन, करुणा, प्रेम र सहिष्णुताको सन्देश दिने बताए।  सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र नागरिकलाई संयमता अपनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सहयोग गर्न  उनले आग्रह गरे।


प्रकाशित : बिहीबार , साउन १४ २०८३२१:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend