बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सुनसरी घटनामा उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग

बिहीबार , साउन १४ २०८३
सुनसरी घटनामा उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग

कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भइ संयमता अपनाउन भाइचारालाई अझ मजबुत बनाउन पनि महासंघले अपिल गरेको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा पछिल्ला केही दिनयता भइरहेको धार्मिक दंगा तथा मुठभेडप्रति ध्यानाकर्षण जनाएको छ।

यस्ता अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू तथा सर्वसाधारणबीच उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै महासंघले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन तथा सरकारसँग माग गरेको छ।

'तराई-मधेश क्षेत्र विशेषगरी विभिन्न जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र हो। कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन', महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस प्रकारका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुऱ्याउँछ। सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो।'

साथै महासंघले घटनामा ज्यान गुमाउनेहरुप्रति श्रदाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भइ संयमता अपनाउन र परापूर्वकालदेखि कायम रहँदै आएको भाइचारालाई अझ मजबुत बनाउन पनि महासंघले सम्बन्धित सबैमा अपिल गरेको छ।

वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूसँग महासंघको आग्रह छ।


प्रकाशित : बिहीबार , साउन १४ २०८३१७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend